आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट एक नभए विकास असम्भव : पूर्वप्रधानमन्त्री खनाल

शुक्रबार, २७ भदौ २०७६, १८ : ५२
शुक्रबार, २७ भदौ २०७६

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र)बीच एकता भएको बताएका छन् ।

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे। उनले सबै कम्युनिस्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताए ।

गृहजिल्ला इलाममा आज पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गरे । निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताए । 

‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिए । 

आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पारे ।

संविधानले सबै पक्षको भावना समेटेर अघि बढेको भन्दै नेम्वाङले यसबारेमा औँला उठाउनु नपर्ने बताए । 

नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताए । उनले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको प्रतिफलसमेत संविधानले दिएको बताए । 

नेम्वाङले मुलुक स्थिरता र विकासको ढोका मानिने संविधान निर्माण गर्ने काम कम्युनिष्ट नेतृत्वकै कारणमात्र सम्भव भएको जिकिर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप