शिवम् सिमेन्टले १६ प्रतिशत लाभांश दिने
काठमाडौं – शिवम सिमेन्टसले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लगभग १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको असोज १३ गते बसेको बैठकले चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी रु ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा आह्वान गरिएको चौंथो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुने कम्पनीले बताएको छ ।
४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्न मिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको र सोही रकमबाट कम्पनीले लाभांश प्रस्ताव गरेको जनाएको छ ।
यही असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउने पनि कम्पनीले जानकारी दिएको छ ।