आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा पूर्व राजाको सन्देश : विद्रोहको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले हित गर्दैन

‘निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति राम्रो होइन’
शनिबार, १८ असोज २०७६, १५ : ५७
शनिबार, १८ असोज २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।

पूर्व राजाको सन्देशमा राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित नहुने बताएका हुन् ।

शाहले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सूल्झाउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटूट प्रयत्न हुनुपर्ने सुझाव दिएका छन् ।

‘नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ,’ शाहले भनेका छन् ।

सन्देशमा भनिएको छ, ‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सूसंस्कृत सभ्यतालाई भूलेर जान खोज्दा कदापि हाम्रो भलो हुँदैन ।’

शाहलेले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ–आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो नभएको पनि बताएका छन् ।

‘हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पुरै देशको उन्नति बाहेक अरु केहि हुँदैन । यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ,’ उनले भनेका छन् ।

शाहले दसैँको अवसरमा देश भित्र र देश बाहिर रहेर बसेका समस्त नेपालीहरुमा सूख, शान्ति र सम्वृद्धिको शूभकामना व्यक्त गर्दै नवदुर्गा भवानीले हाम्रा सबै आसूरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातनिक सत्य पथतर्फ” अभिप्रेरित गरुन् भनेर कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप