आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिडियोमा हेर्नुहोस् पूर्व राजाको भाइटिका, दिए परिवर्तनकारी शक्तिहरुलाई चेतावनी

मङ्गलबार, १२ कात्तिक २०७६, १६ : ३८
मङ्गलबार, १२ कात्तिक २०७६

पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।

शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

उनले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाएका थिए ।

 पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।

सो अवसरमा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अफ्ठ्यारोमा पर्ने बताएका हुन् ।

संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए ।

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ ।’

पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे ।

पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।

‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप