आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र कप्तान बनेपछि पहिलो खेल एमसीसीविरुद्ध, यस्तो छ खेल तालिका

बिहीबार, १४ कात्तिक २०७६, १३ : ०३
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो कप्तानीको पहिलो खेल विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्ने भएका छन् । एमसीसी टोली नेपालमा विभिन्न स्तरका ६ खेल खेल्न कार्तिक १६ गते शनिबार नेपाल आउँदैछ ।

बुधबार मात्र नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई एमसीसीबिरुद्धको खेललाई लक्षित गरी कप्तानको जिम्मेवारी दिएको थियो । यद्यपी मल्लले यसअघि पनि नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालेका थिए । 

क्यानका महासचिव अशोकजाथ प्याकुरेलले बिहिबार एक्कासी फोन मार्फत मल्ललाई कप्तान पदको जिम्मेदारी सुम्पिएको आधिकारिक सूचना दिएका थिए । नियमित कप्तान पारस खड्काले राजीनामा दिएपछि क्यानले मल्ललाई कप्तानको जिम्मेवारी सुम्पिएको हो ।

मल्लले कप्तान बन्नु आश्चर्यजनक भएको पनि बताएका छन् । ‘कप्तान बन्छु भनेर क्रिकेटमा लागेको थिइन् । लामो समय देशका लागि खेलें । सबैको मिहिनेतका कारण नेपाली क्रिकेटले राम्रो गरेको हो । राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु खुशीको कुरा पनि हो । अब सबै मिलेर क्रिकेटलाई थप उचाईमा लैजान काम गर्नुपर्छ । क्रिकेट विकासका लागि खेलाडी, प्रशिक्षक, क्यान र सरोकारवाला सबै मिलेर अगाडी बढ्न जरुरी छ,’ मल्लले भने ।

मल्लले घरेलु मैदानमा एमसीसीविरुद्ध खेल्नै आफ्नो आधिकारिक कप्तानी इनिङको सुरुवात गर्नेछन् । नेपालका विभिन्न टोलीसँग क्रिकेट खेल्न जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय एमसीसी टोलीले काठमाडौं र पोखरामा ६ खेल खेल्ने तालिका छ । एमसीसीले नेपालको राष्ट्रिय टोलीसँग ‘फस्ट क्लास थ्री डे म्यच’ पनि खेल्नेछ । यस खेललाई अन्तर्राष्ट्रि«य क्रिकेट काउन्सिल (आईसीसी) ले फस्ट क्लासको मान्यता दिने बताईएको छ ।

क्यानका महासचिव प्याकुरेलले नेपालमा एमसीसीको टुरलाई केवल खेल मात्र नभएर सम्बन्ध विस्तारको नयाँ आयाम रुपमा लिनु पर्ने बताए । ‘एमसीसी सन्सारको पुरानो क्लब हो । यस भ्रमणलाई हामीले खेलको रुपमा भन्दा नहेरी मित्रता र सम्बन्ध विस्तारको रुपमा सुदपयोग गर्नुपर्दछ,’ प्याकुरेलले भने ।

प्याकुरेलले क्यान निलम्बनकै समयमा एमसीसीको भ्रमण तय भएको र भर्खर क्यानको निर्वाचन सम्पन्न भएसँगै आईसीसीले निलम्बन फुकुवा समेत गरेका कारण भ्रमणलाई कसरी फलदायी बनउन सकिन्छ भनेर क्यान लागिपरेको जानकारी पनि दिए । उनले एमसीसीको भ्रमणले नेपाली खेलाडीलाई थप एक्पोजर मिल्ने पनि बताए ।

आईसीसी जन्मनु भन्दा पहिले अष्ट्रेलियामा सन् १८३८ मास्थापना भएको एमसीसीले विश्वभर क्रिकेट भ्रमण गर्ने गरेको छ । भ्रमणमार्फत एमसीसीले विभिन्न देशको क्रिकेट विकासमा पनि सहयोग पनि पुर्याउँदै आएको छ । आईसीसीको निति निर्माण तह देखि हरेक विषयमा एमसीसीको निर्णायक भूमिका रहने गर्दछ । एमसीसीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि एमसीसीले सन् २००९ र २०१५ मा पनि नेपाल भ्रमण गरेको  थियो ।

एमसीसी टोली  

५१ बर्षीय जिम्मी एडम्सको कप्तानीमा रहेको एमसीसी टोलीमा टेस्ट र फस्ट क्लास क्रिकेट खेलेका अनुभवी र युवा खेलाडीको समिश्रण छ । नेपाल भ्रमणमा रहने एमसीसी टोलीका खेलाडीहरुमा यासिर अराफा, बिली गोडलेम, मिल्स हामाउन्ड, ओलिभर हानन डल्बी, कलुम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल भान्डर्सपार, एड योङ, टम वेस्टली र क्रिस राइट छन् ।

यस्तो छ, खेल तालिका   

टीयू मैदान कीर्तिपुर

कार्तिक १७ः एमसीसीविरुद्ध नेपाल यू–१९ कीर्तिपुर

कार्तिक १८ः एमसीसी विरुद्ध नेपाल (५० ओभरको खेल)

कार्तिक २० देखि २२ः एमसीसी विरुद्ध नेपाल (फस्ट क्लास थ्री डे म्यच)

कार्तिक २३ः एमसीसी विरुद्ध नेपाल सिनियर र यू–१९ मिश्रित (टी–२० खेल)

पोखरा रंगशाला

कार्तिक २५ः एमसीसी विरुद्ध पोखरा आमन्त्रित टोली (टी–२० खेल)

कार्तिक २६ः एमसीसी विरुद्ध चिफ मिनिस्टर–११ (टी–२० खेल) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप