आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चौधरी फाउण्डेसनको विशेष पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू

शुक्रबार, १५ कात्तिक २०७६, १७ : ३६
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत रुपमा सुरुवात गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि शुपोषित हुनु आवस्यक रहेको बताइन् ।  

यस वृहत अभियानलाई अगाडि बढाउन गैर नाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ । नेपालमा आ–आफ्नो क्षेत्रसँग पुर्याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सिईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला रहेका छन् ।

चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरि यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल लिएका छन् ।  

‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ । यहि उदेश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हो ।’

बलियो नेपाल नेपालमा पहिलो पटक निजी क्षेत्रसँगको सहकार्यमा कुपोषणको दिगो अन्त्य र गरिवी निवारणमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको हो । यो विश्वमै प्रयोगमा ल्याईएको एउटा नयाँ सोंच पनि हो । नेपालका नयाँ अनुभवहरूलाई कुपोषण विरूद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशहरूमा लागू गर्न सकिने विश्वास गरिएको छ । अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरि कुपोषण विरूद्ध उपलब्धी हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाए । 

पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।  

सिएनआईका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए । ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भने । यस अभियानमा सीजीका उत्पादनहरू प्रवर्धन गर्न लागिएको भन्ने टिप्पणीप्रति लक्षित गर्दै सीजीका प्रवन्ध निर्देशक समेत रहनु भएका चौधरीले भने– ‘यस अभियानमार्फत् सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवस्यक ठानेका छैनौँ ।’

बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताए । यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहुँचमा पु¥याउने गरि कार्यक्रम तय भएको जानकारी पनि उनले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप