आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकमा व्यवसायमैत्री वातावरण निर्माण हुँदै गएको छ: मन्त्री पुन

शनिबार, १६ कात्तिक २०७६, २२ : ३९
शनिबार, १६ कात्तिक २०७६

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकमा व्यवसायमैत्री वातावरण निर्माण हुँदै गइरहेको बताएका छन् । लाफा ग्रुप लिमिटेडको दोस्रो वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य लिएको सरकारले व्यवसाय र उद्योगमैत्री वातावरण निर्माणमा लागेको बताएका हुन् ।

“गत वर्षको तुलनामा यस वर्ष मुलुकले आर्थिक विकासमा फड्को मारेको छ, कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको छ”, उनले भने । मन्त्री पुनले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मुलुकमा पाँचतारे होटलमा लगानी गर्ने क्रम बढेको बताए ।

विदेशमा आर्जन गरेको ज्ञान, सीपलाई नेपालमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले मुलुकमा व्यावसायिक साझेदारीताको विकास हुन नसकेको अवस्थामा लाफा ग्रुपले व्यावसायिक साझेदारिता गरेर उदाहरणीय काम गरेको उल्लेख गरे । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण भइसकेको अवस्थामा आर्थिक विकासका लागि व्यावसायिक साझेदारिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कामका लागि विदेशमा गएका युवालाई स्वदेशमा उद्यम गर्ने वातावरण निर्माणमा सरकार लागेको उनको भनाइ थियो । उनले भने, “मुलुकको आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको छ ।”

लाफा गुप्र लिमिटेडका अध्यक्ष हिरामाया आलेले सामूहिक लगानीमा कम्पनी स्थापना गरेर काम गर्दै आइरहेको बताए । कूल ४७३ साधारण शेयर सदस्य रहेको लिमिटेडले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, सूचना तथा प्रविधि, जलविद्युत् र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको अध्यक्ष आलेले बताए । 

लाफा खबर डटकमका अध्यक्ष एमबी आस्थामगरले सूचना र प्रविधिको विकाससँगै मुलुकको विकास हुने भएकाले लाफा ग्रुपले सूचना र प्रविधिमा ध्यान दिएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप