वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बन्यो : नैनसिंह महर
काठमाडौं – नेबिसघंका निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेस युवा नेता नैनसिंह महरले वर्तमान सरकार विदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन् ।
नेपाल स्वास्थ्य कर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन काँग्रेसले सर्वदलीय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताए।
‘लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोर बाटोबाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ।’, नेता महरले भने ।
नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर विद्यार्थीबाट असुलिएरो थप शुल्क समेत फिर्ता गर्न सरकार भागिरहेको आरोप लगाए ।