साग खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपालका खेलाडीलाई विशेष पुरस्कारको घोषणा गर्दैछन् ।
मङ्गलबार दिउँसो प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रमबीच प्रधानमन्त्रीले खेलाडीलाई विशेष प्याकेचको घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताए । प्रधानमन्त्रीका प्याकेज घोषणा कार्यक्रम राखेपले नै राखेको हो ।
राखेपका अनुसार प्याकेजमा सागका पदक विजेता नेपाली खेलाडीलाई पुरस्कारको व्यवस्था गरिन लागिएको हो । पुरस्कारको बारेमा भने राखेपले खुलाएको छैन । ‘त्यो सरप्राइजनै छ । अब प्रधानमन्त्रीले घोषणा गरेपछि थाहा हुनेछ,’ सिलवालले भने । राखेपले सागअघि खेलाडीलाई पदक जित्न हौसला दिनका लागि यस्तो कार्यक्रम राखेको हो ।
यसैगरी सोही अवसरमा प्रधानमन्त्री ओलीले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मान गर्नेछन् । सरकारले यसअघि घोषणा गरेको जनही तीन लाख रुपैयाँबाट खेलाडीलाई पुरस्कृत गरिन लागिएको हो ।