बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा
साविक विजेता बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो । जितसँगै रियलले १४ खेलबाट ३१ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ ।
रियललाई जिताउन कप्तान सर्जियो रामोस र ड्यानियल कार्भाहलले गोलगरे । घरेलु टोलीका लुकास पेरेजले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा रामोसले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ६५औं मिनेटमा लुकास पेरेजले पेनाल्टीमा बराबरी गोल फर्काए ।
त्यसपछि ६९औं मिनेटमा कार्भाहलले गोल गर्दै रियललाई जिताएका थिए । रियलसँग पराजित अलाभेस १८ अंकसहित १४औं स्थानमा छ ।ला लिगाकै अन्य खेलमा रियाल सोसिडाडले इबरलाई ४–१, भ्यालेन्सियाले भिल्लारियललाई २–१ र रियल बेटिसले मलोर्कालाई २–१ गोलले पराजित गरेको छ ।