आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वरसम्राट नारायण गोपालको सम्झना

बुधबार, १८ मङ्सिर २०७६, २१ : १५
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन् । 

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उनको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । बिहीबार उहाँको २९औँ स्मृति दिवसको अवसरमा नारायणगोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक स्रोताको मन जिते । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् । 

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गरेका थिए । 

प्रेम र देशभक्ति गीत गाउन रुचाउने उहाँले शब्द र सङ्गीतलाई निकै ध्यान दिने गरेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउछन् । “परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो”, उनले भने, “जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् ।” 

नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबलावादकका रूपमा स्टेज चढेका थिए । नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको उनले बताए । 

उनका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उन उत्कृष्ट आधुनिक गीतहरु पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिए । प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल भए । नारायण गोपालले नेपाली सुगम सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाएका छन् ।

साङ्गीतिक जीवनमा उनले केही असफलता पनि बहोर्नुपरेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेकर अवीकृत हुनुप¥यो । उनले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो ।
 
करीब १०० बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो ।

बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुथ्यो पूर्वपश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उहाँले जाग लम्क चम्क हो नौ जवान हो.. बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गरेका थिए । 

उन गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेको जानकारहरु बताउँछन् । उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । 
विसं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उहाँहरुबाट सन्तान जन्मिएनन् । 

नारायण गोपालको स्मृति दिवसका दिन सङ्गीत कोषले उनको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताए ।
 
एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन त, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनुलगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप