आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली प्रहरीलाई सक्कली प्रहरीको सलाम, परिचयपत्रमा एसएसपीको हस्ताक्षर

शनिबार, १२ पुस २०७६, १७ : ४८
शनिबार, १२ पुस २०७६

काठमाडौँ । अपराध नियन्त्रण र अनुसन्धान गर्नु नेपाल प्रहरीको दायित्व हो । राष्ट्रप्रति समर्पित नेपाल प्रहरीले कहिले बर्दीमा काम गर्नुपर्ने हुन्छ त कहिले सादा पोसाकमा ।

विचार गर्नुपर्ने कुरा के छ भने सबै सादा पोसाकको प्रहरी हुँ भन्नेहरु वास्तविक प्रहरी नहुन पनि सक्छन् । काठमाडौँ उपत्यकामै एउटा यस्तै घटना भएको छ ।

पुस ५ गते साँझ चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट चितवन रत्ननगर नगरपालिका–११ घर भएका २३ वर्षीय विशाल पौडेललाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित समात्यो । 

पुस ६ गते जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर प्रहरीले हिरासत कक्षमा राखेर पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले पौडेलको शरीर खानतलासी गर्यो ।

महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत एक हवल्दारले पौडेलको खानतलासी गरेका थिए । खानतलासी गर्ने क्रममा पौडेलले लगाएको ज्याकेटबाट लुकाईछिपाई राखेको एउटा परिचयपत्र फेला पर्यो ।

पहिले त ड्यूटीमा खटिएको प्रहरी नै परिचयपत्र देखेर अलमलमा पर्यो । ‘सलाम साप !’ भन्दै उठे । परिचयपत्रमा लेखिएको थियो ‘प्रहरी सहायक निरीक्षक विशाल पौडेल ।’

विशाल पौडेल 

खानतलासी गर्ने प्रहरी सोच्न थाले ‘असई साबले कसरी यस्तो गर्नुभयो ।’ तत्कालै हवल्दारले वृत्तका इन्सपेक्टर गायत्रीराज शर्मालाई पक्राउ परेका व्यक्ति त ‘प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)’ रहेछ भन्दै ब्रिफिङ गराए । 

पौडेलमाथि झनै प्रहरीले कडा अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा पौडेलको साथबाट बरामद भएको परिचयपत्र नक्कली भएको पुष्टि भयो ।

एसएसपी धिरजप्रताप सिंहको हस्ताक्षर

पौडेलको साथबाट बरामद भएको परिचयपत्रमा नेपाल प्रहरीका एसएसपी धिरतप्रताप सिंहको हस्ताक्षर किर्ते गरेको पाइएको छ । परिचयपत्रमा महानगरीय अपराध महाशाखा, टेकुको छाप समेत लगाइएको छ ।

प्रहरीको नक्कली कार्ड बनाएर प्रहरीको पेशाको बदनाम गराउन खोजेका पौडेललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखित सम्बन्धी कानुनी दायरामा ल्याउनको लागि प्रहरीले थप अनुसन्धान गर्न आवश्यक थियो ।

कुरा यतिमै सकिने खालको थिएन । पौडेलले प्रहरीको नक्कली परिचयपत्र कहाँबाट बनाए ? किन बनाए ? जस्ता कुराहरु बाँकी नै थियो । प्रहरीले पौडेलमाथि थप अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानको क्रममा पौडेलले भक्तपुरको सूर्यविनायकमा नक्कली कार्ड बनाएको पाइयो । पौडेलले भक्तपुरस्थित सुर्यविनायकमा सुनिल श्रेष्ठले सञ्चालन गर्दै आएको सूर्य आर्टसमा बनाएको प्रहरी समक्ष बयान दिएका छन् ।

सूर्य आर्टका प्रोपाइटर सुनील श्रैष्ठ । 

पौडेलको बयानलगत्तै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर श्रेष्ठलाई समेतसोही दिन पक्राउ गरिएको वृत्तका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए ।

गैरकानुनी कार्य गरेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठले सञ्चालन गर्दै आएको कम्प्युटरका ‘हार्डडिस्क’ समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीको परिचयपत्र देखाउँदै ठग्दै पौडेल

प्रहरीको नक्कली परिचयपत्र बनाएका पौडेलले विभिन्न व्यक्तिहरुलाई धम्क्याउँदै ठगी गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

नेपाल प्रहरीको सादा पोसाकमा खटिएको प्रहरी भन्दै विभिन्न स्थानमा व्यक्तिगत फाइदाको लागि पौडेलले काम गर्दै आएको इन्सपेक्टर शर्मा बताउँछन् ।

पौडेल र श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप