आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली यती समूहको सीईओ रहेछन् : प्रदीप पौडेल

बिहीबार, २४ पुस २०७६, २० : २२
बिहीबार, २४ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अंकगणितको भरमा ज्ञानेन्द्र शाहले झैं जनताको लोकतन्त्र खोस्ने कोसिस भइरहेको बताएका छन् ।

सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले अंकगणित भरमा नेकपाले जनतामाथि टेक्ने काम गरेको बताए । 

उनले भने, नेकपासँग गणितिय हिसावले दुई तिहाई छ । नेकपाका साथीहरु आग्रह गर्न चाहन्छु, अंकगणितको भरमा जनतामाथि टेक्ने, जनतालाई हेप्ने, ज्ञानेन्द्र शाहले झैं जनताको लोकतन्त्र खोस्ने कोसिस नगर्नुहोस् ।’

नेता पौडेलले तत्कालीन राज्ञा ज्ञानेन्द्र शाहलाई माइतीघर मण्डलाबाटै जनताका अधिकार नखोस्न आग्रह गरेको स्मरण गर्दै जनतामाथिको दमन जारी राखेका कारण राजतन्त्र सधैका लागि हटेको जिकिर गरे । 

उनले भने, ‘हिजो माइतीघर मण्डलामै बसेर कथित राजालाई भनेका थियौं । महाराज हाम्रा टेलिफोनहरु काटिए, पत्रिकाहरु बन्द भए, एफएम, टेलिभिजनहरु बन्द भए । तर लामो समयसम्म बन्द हुन सक्दैन । सबैथोक बन्द गर्ने तपाईँको आवाज कहिल्यै नसुनिने गरी बन्द गरिदिन्छौं । आज ज्ञानेन्द्रको आवाज बन्द भयो । तर त्यो प्रवृतिको अन्त्य भएन ।’

उनले प्रधानमन्त्री केपी ओलीको प्रवृति महाराजको जस्तै भएको आरोप लगाए । 

‘प्रधानमन्त्री केपी ओली जीको प्रवृति महाराजको जस्तै छ । त्यसैले अहिले राजाको नाम फेरिएको रहेछ, गणतन्त्र आएको होइन रहेछ,’ पौडेलले भने, ‘हिजोको राजाको ठाउँलाई नयाँ राजाले प्रतिस्थापन गरेको रहेछ । लोकतन्त्रलाई हेर्ने हिजोको राजाको नजर जस्तो थियो आजको राजाको पनि उस्तै छ । ओलीजीको प्रवृत्ति श्रीपेच लगाउनेको जस्तै छ ।’

सरकारले जनतामा निगरानी बढाएर लोकतन्त्र बलियो नहुने उनले बताए ।

 ‘यस्तो सूचना प्रविधि विधेयक ल्याउँदा नेपालमा लोकतन्त्र रहन सक्दैन । संसदमा रहेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता कायम रहँदैन । प्रतिगुप्तचरी खोल्ने भनेर ल्याइएको नेपाल विशेष सेवा ऐनका प्रावधानअनुसार जनताको निगरानी गर्दा लोकतन्त्र बलियो हुँदैन,’ उनले भने ।

नेता पौडेलले सरकारले ल्याएका लोकतन्त्रविरोधी विधेयकको अवज्ञा गर्न पनि सार्वजनिक रुपमै अपिल गरे । 'आजैदेखि सरकारले ल्याएको सूचना प्रविधि विधेयकको अवज्ञा गरौं । मिडिया काउन्सिल विधेयकको अवज्ञा गरौं । मानवअधिकार विधेयकको अवज्ञा गरौं,’ उनले भने,’ जति पनि लोकतनत्रमाथि प्रहार गर्ने विधेयकहरु छन्, ती सबै विधेयकलाई गुठी विधेयक फिर्ता गरे जस्तै फिर्ता हुन बाध्य हुने स्थिति हामीले बनाऔं ।'

यस्तै उनले फरक प्रसंगमा प्रधानमन्त्री ओलीलाई ग्रुपको सीईओको संज्ञा दिए । पौडेलले भने, ‘यती ग्रुपले नेपालको सबै सम्पति हडप गर्दैछ । हिजो मात्रै ताहचलको कुरा आएको छ । आज नयाँ कुरा आएको छ । नेपालको प्रधानमन्त्री केपी ओली यती ग्रुपको सीईओ पनि हुनुहुँदोरहेछ । यती ग्रुपको सीईओ रहेरै नेपालको प्रधानमन्त्री हुन पाइँदैन ओलीजी । तपाईंको पैसा यती ग्रुपमा लगानी भएको रहेछ, तपाईंको मान्छेहरुको पैसा रहेछ । त्यही भएर नेपालको सारा सम्पति यती समूहलाई दिन खोज्नुभएको रहेछ ।’

 सरकार यती समूहलाई खुकुलो हुनेगरी कानुन बनाउने र संशोधन गर्ने बाटोमा हिँडिरहेको उनले बताए ।  पौडलले अगाडि भने, ‘तपाईँलाई गरिब जनताको मतलब छैन, नेपाल समृद्ध बनाउनेमा मतलब छैन, छ त केवल यती समूहलाई समृद्ध बनाउने बाटोमा लागिरहनुभएको छ । एउटा प्राइभेट कम्पनीको सीईओ भएको प्रधामन्त्रीलाई हामीले प्रश्न गर्न नपाउने रे । प्रश्न गर्‍यो भने ५ बर्ष कैद र १५ लाख जरिवाना हुने रे । यस्तो हुन सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप