आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के गर्दैछ एओसी ?

बिहीबार, ०२ माघ २०७६, १३ : ५३
बिहीबार, ०२ माघ २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल २८ वटा विमान कम्पनीहरुले आफ्नो उडान भरिरहेका छन् । कुवेतको एयर जजिराले उडान अनुमति पाइसकेकाले अब टीआइएबाट २९ विमान कम्पनीले उडान भर्नेछन् । 

विमानस्थलमा सिजनको समयमा एकसय १० वटासम्म बाह्य उडान तथा अवतरण हुने गरेका छन् । त्यसैगरी, आन्तरिक उडान तथा अवतरण तीन सयको हाराहारीमा हुने गरेको छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरी चारसय उडान तथा अवतरण हुने गरेका छन् ।

यति धेरै व्यस्त रहने विमानस्थलको व्यवस्थापनसँगै यहाँको स्तरोन्नती, यात्रु सेवा, विमानस्थलको आन्तरिक र बाह्य सरसफाई, सचेतना जगाउने काममा सरकार, नागरिक उड्डयन प्राधिकरण अनि विमानस्थल व्यवस्थापनसँगै विमान कम्पनीहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने गरेको छ ।

नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संगठन हो ‘एयरलाइन अपरेटर्स कमिटी–नेपाल’ । लामो समयदेखि सक्रिय रहँदै आएको एयरलाइन अपरेटर्स कमिटी–नेपाल (एओसी)ले विमानस्थलबाट आवतजावत गर्ने यात्रु तथा पर्यटकहरुलाई सहजता दिलाउनका लागि विमानस्थल व्यवस्थापनसँग मिलेर काम गर्ने र विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ । सँगसँगै, एओसीले सामाजिक उत्तरदायित्व बहनमा पनि उत्तिकै अग्रसरता देखाएको छ । 

विमानबाट यात्रा गर्दा यात्रुलाई कस्ता सामानहरु लैजान मिल्ने हो, कस्ता सामान लैजान मिल्दैन देखि लगेज क्षमता, विमानस्थलको प्रक्रियाबारे जानकारी दिन एओसीले विमानस्थल व्यवस्थापनलाई सहयोग गर्दै आएको छ । साथै, कुनै दुर्घटना भएमा सहयोग तथा दुर्घटना न्यूनिकरणका उपायबारे चेतना जगाउने जस्ता कार्यमा पनि एओसी सक्रिय रहेको देखिन्छ ।

त्यसैगरी, ‘भिजिट नेपाल २०२०’लाई मध्यनजर गरी एओसीले एयरलाइन्समा आबद्ध सवै कर्मचारी मिलेर यात्रुलाई विमानस्थलबाट आवतजावत गर्न सहज वातावरण बनाउनको लागि सरकार, नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग सहकार्य गर्दै आफ्नो तर्फबाट पनि काम गर्ने बताएको छ ।

सामाजिक उत्तरदायित्व बहनमा एओसी

एओसीले २०१९ मा विभिन्न सामाजिक उत्तरदायित्व बहनसँगै चेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको जनाएको छ । एओसी नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग मिलेर विमानस्थलको सरसफाइमा पनि केन्द्रित भएको छ । विमानस्थलमा रहने सानातिना फोहरले पनि विमानलाई क्षति पुर्याउन सक्नेबारे सचेतना फैलाउँदै एओसीका पदाधिकारीहरु आफै विमानस्थल क्षेत्रमा रहेका फोहरहरु उठाउने र विमानस्थल कर्मचारीलाई झक्झकाउने काम गर्दै आएका छन् । 

त्यसैगरी नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरु र एओसीका पदाधिकारीहरु मिलेर मातातिर्थस्थित वृद्धाश्रमलाई औषधी, लत्ताकपडा, ओढ्ने ओच्छ्याउने, खाद्यान्नलगायतको सहयोग गरेको जनाइएको छ । समाजप्रति सबैको उत्तिकै दायित्व हुने र अझ बृद्धबृद्धा नागरिकप्रतिको कर्तव्य सबैले निभाउन जरुरी ठानेर कार्यक्रम गरेको एओसीका अध्यक्ष शरदचन्द्र काफ्लेले जानकारी दिए । त्यसैगरी २०१९ मा  नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको रक्तदान कार्यक्रममा एओसीले सहयोग गरेको छ ।

अध्यक्ष काफ्लेले २०२० मा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विविध कार्यक्रम गर्ने बताएका छन् । त्यसैगरी ‘भिजिट नेपाल २०२०’ सफल पार्न सबै विमान कम्पनीहरु मिलेर नेपाल टुरिजम् बोर्ड, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गर्ने योजना बनाएको बताए । 

विमान कम्पनीको माध्यमबाट विदेशी पर्यटकलाई नेपालको बारेमा जानकारी गराउने र नेपालबारे प्रचारप्रसार गर्ने काफ्लेले बताए । आफ्नो कमिटीले भिजिट नेपालमा अन्तर्राष्ट्रिय विमान कम्पनीको तर्फबाट के कस्तो भूमिका हुनसक्छ भन्नेबारे प्रत्यक्ष सरोकार राख्दै आएको बताए । 

त्यसैगरी कार्गोमा देखिएको अव्यवस्थालाई व्यवस्थापन गर्न विमान अपरेटरहरुको समूह ‘कार्गो वर्किङ्ग ग्रुप’ पनि विमानस्थलमा सक्रिय छ । यसले आगमन र प्रस्थानको समयमा सुरक्षा जाँचमा विमानस्थल व्यवस्थापन र सुरक्षा संयन्त्रलाई सहयोग गर्ने गरेको छ । 

विमानस्थलको सुरक्षासँग सम्वन्धित विषयमा चासो राख्दै आएको एओसी र यसअन्तर्गतको कार्गो वर्किङ्ग ग्रुपले विमानस्थल, प्राधिकरण र सरकारसँग मिलेर विमानस्थल, यात्रु सुरक्षा, फ्यूल सुरक्षा, रनवे सुरक्षा, उडान कार्यमा सहयोग गर्नेदेखि जनचेतनामूलक कार्य गरी सहयोग गर्ने जनाएको छ ।

विशेष गरेर विमानस्थल र विमान कम्पनीहरुको प्राविधिक पक्षसँग प्रत्यक्ष सरोकार राखेर कार्य गर्दै आएको एओसी र यस अन्तर्गतको कार्गो वर्किङ्ग ग्रुपले आगामी दिनमा पनि विमान कम्पनीको स्तरोन्नति, यात्रु व्यवस्थापनका लागि पनि विमानस्थल व्यवस्थापनलाई सल्लाह तथा सुझाबसँगै सहयोग गर्ने जनाएको छ । त्यसैगरी सो कम्पनीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप