अदालतले गरिदियो नगरसभा बदर
रौतहट । रौतहटको उत्तरी भेगमा पर्ने फतुवा विजयपुरको हालै सम्पन्न तेस्रो नगरसभा बदर गर्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत वीरगन्जका न्यायधीशद्वय दिल्लीराम आचार्य र अन्जु उप्रेतीको संयुक्त इजलासले बिहीबार फतुवा विजयपुरको तेस्रो नगरसभा अवैध ढंगले भएको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो ।
प्रतिवादी फतुवा विजयपुर नगरप्रमुख गोपाल प्रसाद यादवको तर्फबाट तिनजना र वादी उपमेयर कान्तिदेवी महतोको तर्फबाट चारजना वकिलले बहस गरेका थिए ।
वकिलहरुको वहसपछि संयुक्त इजलासले गत पुस ११ गते भएको तेस्रो नगरसभा बदरगर्ने निर्णय भएको फतुवा विजयपुर १ का वडाध्यक्ष संजय साहले जानकारी दिए ।
तेस्रो नगरसभामा अल्पमतमा रहेका भनिएका मेयर यादव जबरजस्ती नगरसभा गरेको उपमेयर कान्तीदेवी महतोले आरोप लगाउँदै आएकी थिइन् ।
नगरपालिकाको आन्तरिक आम्दानी सहित कुल १७ करोड रुपैयाँ बजेट रहेपनि मेयर यादवले मात्र ८ करोडको विकासको योजना बाँडेर बाँकी रकम अनियमित्ता गर्ने मनसायले नगरसभा गराएको भन्दै उपमेयरले उच्च अदालत वीरगंजमा निवेदन दिएकी थिइन् ।