फातीको गोलमा बार्सिलोना विजयी
सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो ।
बार्सिलोनाको जितमा दुवै गोल फातीले गरे । फातीलाई दुवै गोलको अवसर कप्तान मेस्सीले जुराईदिएका थिए । ३०औँ मिनेटमा फातीले मेस्सीको पासमा गोल गर्दै घरलु टोलीको उत्साह बढाए । उनले लगत्यै मेस्सीक पासमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै लगातार गोल गर्ने अवसर बनाएपनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।
लिभान्तेले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । लिभान्तेका लागि रुबेन रोसिनाले सान्त्वना गोल गरे । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिड भन्दा तीन अङ्कले पछि छ । रियलको ४९ अंक छ । २६ अंक बनाएको लिभान्ते १३औं स्थानमा छ ।
अर्को खेलमा एथ्लेटिक विल्बाओलाई २–० गोलले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लियो । जितसँगै गेटाफेले ३९ अङ्क बनाएको छ । ३१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ ।