आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के गर्दैछन् श्रममन्त्री यादव मौरिससमा ?

आइतबार, १८ फागुन २०७६, १५ : २२
आइतबार, १८ फागुन २०७६

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव यतिखेर मौरिससमा छन् । मन्त्री यादव मन्त्रालयका सचिव विनोद केसीसहितको ५ सदस्य नेपाली टोलीको नेतृत्व गर्दै गत १४ गते मौरिसस भ्रमणमा निक्लिएका हुन् । 

मन्त्री यादवको भ्रमणमा नेपाल र मौरिसस दुई देशबीचको कुटनीतिकसहित श्रम तथा रोजगारका विषयमा महत्वपूर्ण सम्झौता तथा भेटवार्ता भएका छन् । 

गत १४ गते मौरिसस् गएका मन्त्री यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसंग भेटवार्ता गरेका छन् । 

मौरिसस्को पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेट वार्तामा मन्त्री यादवले गत जुन २०१९ मा नेपाल–मौरिसस्बीच सम्पन्न भएको श्रम सम्झौताको कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

सोही अबसरमा मन्त्री यादवले दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी गर्दै आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निमन्त्रणा स्मरण गराउदै प्रधानमन्त्री जुगनाउथलाई आउन आग्रह गरेका मन्त्रालयका प्रवक्ता सह–सचिव सुमन घिमिरेले जानकारी दिए । 

यस बर्ष ‘जलवायु परिवर्तनझ शीर्षकमा स‌ंवाद हुन गइरहेको र नेपाल तथा मौरिसस दुवै देश यसबाट पर्ने असरबाट जोखिमयुक्त रहेकाले मौरिससको सहभागिता महत्वपूर्ण हुने कुरा मन्त्री यादवले सुल्झाएको घिमिरेको भनाइ छ । 

यसै अबसरमा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि आह्वान समेत गरेका छन् । सो क्रममा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको संवाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, भ्रमणका क्रममा मन्त्री यादवले मौरिसस् र नेपालकाबीच कृषि, उद्योग तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा वार्ता गरेका छन् । मन्त्री यादवले मौरिसस्का कृषि मन्त्री महेन् कुमार सिरुतनसँग मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी गरेका छन् ।

यस अघि मन्त्री यादवसहितको टोलिलाई मौरिसस पक्षले त्यहाँको व्यवस्थापिका नेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएका थिए । सो अवसरमा माननीय मन्त्री लगायत प्रतिनिधि मण्डलका सदस्यहरुलाई मौरिससका सभामुखले स्वागत गरेका थिए ।

त्यसैगरी मन्त्री यादवले मौरिसस स्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल गरेको र सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

मन्त्री यादव मौरिशसका श्रम, मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मन्त्रिपरिषदको निर्णय अनुसार फेब्रुअरी २६ देखि २९ गते सम्मका लागी मौरिसस् गएका हुन् । मन्त्री यादव आज स्वदेश फर्किदै छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप