आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् उच्च शिक्षाधारी भिखारी ! उच्च शिक्षा लिएका पनि किन बन्छन् भिखारी ?

मङ्गलबार, २७ फागुन २०७६, १५ : ०७
मङ्गलबार, २७ फागुन २०७६

नयाँ दिल्ली । भारतको ओडिशा राज्यको पुरी शहरमा स्थानीय प्रशासनले ‘भिखारीमुक्त अभियान’ सञ्चालन गरेको छ ।

सडकमा भेटिएका भिखारीलाई पुनर्वासका साथै निःशुल्क खाना, लुगा, ओढ्ने–ओछ्याउने, चिकित्सालगायत तमाम सुविधा उपलब्ध गराउन थालिएको छ ।

सरकारले विभिन्न पाँच गैरसरकारी संस्थालाई चयन गरेर प्रतिव्यक्ति ३ हजार ४ सय भारतीय रुपैयाँ उपलब्ध गराउँदै भिखारीहरुको रेखदेखमा भूमिका निर्वाह गरेको छ ।

पुरीका जिल्लाअधिकारी बलवन्त सिंहले भने, ‘विश्वस्तरीय विरासत भएको शहरमा भिखारी रहनु राम्रो होइन, त्यसैले हामीले यस्तो अभियान सञ्चालन गरेका हौँ, उनीहरुलाई सदाका लागि भिक्षावृत्तिबाट निवृत्त गर्नका लागि हामीले कोशिस गरिरहेका छौँ ।’

सम्भव भएसम्म उनीहरुलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले जानकारी दिए । तत्कालका लागि भिखारीहरुको वर्गीकरण गरेर उनीहरुलाई विशेष रुपमा बनाइएको पुनर्वास केन्द्रमा पठाउने तयारी भइरहेको उनको भनाइ छ । पुनर्वास केन्द्रमा पठाउनु अघि उनीहरुलाई केही समयका लागि गैरसरकारी संस्थासँगको समन्वयमा आश्रयस्थलमा राखिने उनले बताए ।

जिल्लाका सामाजिक सशक्तिकरण अधिकारी त्रिनाथ पाढीका अनुसार शहरमा करिब ७ सयको संख्यामा भिखारी छन् । तीमध्ये केही भिखारीको पृष्ठभूमि निकै अनौठो र अपत्यारिलो छ ।

धरित्री चटर्जी
सडकबाट उद्धार गरी बेस क्याम्पमा ल्याइएकी धरित्री चटर्जी फरर अंग्रेजी बोल्छिन् । ५४ वर्षीया उनी कुनै पनि रुपमा भिखारीजस्तो लाग्दिनन् । कालीघाट, कोलकाता घर भएकी उनी जगन्नाथ मन्दिर नजिकै भिक्षावृत्ति गरिरहेको अवस्थामा फेला परेकी थिइन् ।

‘प्रभु जगन्नाथप्रति मेरो मनमा बाल्यकालदेखि नै एक अद्भुत आकर्षण थियो,’ उनले भनिन्, ‘आफ्नो सांसारिक जिम्मेवारी पूरा गरेपछि म गतवर्ष पुरी आएर बस्न थालेकी हुँ ।’

उनले आफू विवाहित रहेको र २२ वर्षीय छोरासमेत रहेको बताइन् । शास्त्रीय संगीतमा निपुण उनी कुनै समय भेल्लोरको सीएमसी अस्पतालमा कामसमेत गरेकी थिइन् ।

श्रीजीत पाढी
कुनै समय मेधावी छात्र मानिने श्रीजीत पाढी पनि पुरीमा भिख मागेर बसेको पाइए । कटकको रेवेनसा कलेजमा उत्कृष्ट नम्बर ल्याएर इकोनोमिक्समा एमए गरेका उनी कटक–भुनवेश्वरका मौजुदा पुलिस कमिश्नर सुधांसु सारंगीका निकट मित्रसमेत थिए ।

सुधांसु र अन्य केही साथीले श्रीजीतका बारेमा जानकारी पाएपछि उनको खोजी भयो र अन्ततः उनलाई फेला पारियो । तर उनलाई देख्दा कुनै समय उनी मेधावी छात्र थिए र उनले एमएसम्मको अध्ययन पूरा गरेका छन् भन्ने कसैले पनि अनुमान गर्न सक्दैन ।

लामो जटा भएको कपाल, लामो दारी, मैलो कपडा र मानसिक सन्तुलन गुमेकोजस्तो व्यवहार गर्ने उनलाई सुरुमा पुरी जिल्ला अस्पताल भर्ना गरियो । हाल उनको कटकस्थित एससीबी मेडिकल कलेज तथा अस्पतालको मानसिक रोग विभागमा उपचार भइरहेको छ ।

सिभिल सर्भिसको परीक्षामा असफलतापछि उनी निकै निराश भएको परिवारजनको भनाइ छ ।  

लक्ष्मीप्रिया मिश्र
धरित्री र श्रीजीतजस्तै उच्च शिक्षा हासिल गरेर पनि भिक्षा माग्दै हिँड्ने अर्को पात्र हुन् लक्ष्मीप्रिया मिश्र । उनी अंग्रेजी भाषामा पोख्त छिन् भने संस्कृतका कयौं श्लोक भन्न सक्छिन् ।

उनले कुनै समय पुरीकै बालिका विद्यालयमा पाँच वर्षसम्म अध्यापन गरेकी थिइन् । उनले गुजरात र इथियोपियामा पनि भौतिक, रसायन विज्ञान र गणित विषय पढाएकी थिइन् ।

आफ्नो एकमात्र छोरा गुमाएपछि उनी मानसिक सन्तुलन गुमाउन पुगिन् र भिख माग्न थालिन् । ‘मेरो एकमात्र छोरा थियो,’ उनले भनिन्, ‘सात वर्षअघि एक दिन अचानक ऊ गायव भयो, ऊ मरेको छ कि जिउँदै छ भन्ने पनि थाहा छैन ।’

आँखासमेत कमजोर भएकी उनलाई लायन्स क्लवका कार्यकर्ताले उपचारका लागि भुवनेश्वरको एक अस्पतालमा भर्ना गरेका छन् ।

उच्च शिक्षा भएका पनि कसरी बन्छन् भिखारी ?
भिखारी मुक्त अभियानका सल्लाहकार सिद्धार्थ रायका अनुसार कयौँ कारणले मानिसलाई यस्तो अवस्थामा पु-याउन सक्छ । ‘अभिलाषा या लक्ष्य र उपलब्धिसँग धेरै भिन्नता हुनु, आफ्नो दक्षताअनुसार फल मिलेन भन्ने महसुस हुनुजस्ता कुराले मानिसलाई निराश बनाउँछ,’ उनले भने, ‘उदाहरणका लागि हामी श्रीजीत पाढीलाई लिन सक्छौँ ।’

हाम्रो पारिवारिक, सामाजिक र व्यक्तिगत जीवन व्यवस्थाका कमी कमजोरीले पनि मानिसलाई एउटा साधारण जीवन बिताउने चाहनाबाट पर लैजान सक्ने उनको भनाइ छ ।

उत्कल विश्वविद्यालयका मनस्तत्व विभागका सेवानिवृत्त प्रोफेसर प्रताप रथ भन्छन्, ‘हाम्रो समाज र संस्कृतिमा श्रमको सम्मान हुँदैन, पश्चिमी विकसित मुलुकमा कुनै विश्वविद्यालयको प्रोफेसर पनि खाली समयमा विना संकोच ट्याक्सी चलाउँछन् वा होटलमा काम गर्छन् ।’

हाम्रो समाजमा मानिसले काम, नाम वा प्रतिष्ठा पाएन भन्ने महसुस गर्नासाथ हतास हुने र परिवार तथा समाजका बारेमा चिन्ता गर्न छाड्ने उनको भनाइ छ ।

–बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप