आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ठप्प

शनिबार, २९ चैत २०७६, ०९ : २३
शनिबार, २९ चैत २०७६

राष्ट्रिय गौरवको आयोजना  निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ । 

 कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले  नदीजन्य पदार्थ निकाल्न निर्माण कम्पनीले नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको विमानस्थल निर्माण कम्पनीले जनाएकोे छ । सो विमानस्थलको करीब १० प्रतिशत काम मात्र बाँकी छ । 

धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उक्त विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र  उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । 

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेकोे विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो ।  आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट  बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि बन्दाबन्दीका कारणले रोकिएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

उनन्नतीस चिनियाँ प्राविधिक –कामदार र ८० नेपाली कामदार आन्तरिक क्वारेन्टाइनमा बसेर काम अगाडि बढाउन तयार भए पनि नदीजन्य सामग्रीको अभावले कुनै काम नभएको अधिकारीले बताए ।  

निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो ।

 सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।  निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप