कविता : मान्छे र मृत्यु
–सञ्जु बजगाईं
ए मान्छे !
तेरा आफ्नै पैतालाहरुले
आँट गर्न नसक्ने
अनगिन्ती कठोर बाटाहरुमा
कस्तो मृत्युभयले खेदेर आज,
भागिरहेछस् निरन्तर दिनरात नभनी ।
के बाँच्नु भनेको श्वास फेर्नु मात्र हो ?
के बाँच्नु भनेको मुटु चल्नु मात्र हो ?
ए मान्छे !
एकपटक आफ्नै प्रतिबिम्वलाई
मनका आँखाले नियाल्ने
एउटा कठोर चेष्टागरिस् भने
तेरो वर्तमानभरि देख्नेछस्
दुरदृष्टि नभएका चिम्सा तेरा आँखा
चिन्तन गर्न नसक्ने करङ्गभित्र चेपिएको हृदय
स्याप्प सुकेका आफ्नै तन्नेरी गाला
संज्ञाहीन निधारमाथि पसिनाको मुल उमारेर
तिर्खाले थरथर काँपेका प्यासा ओठहरु
भित्रभित्रै दोब्रिएको आफ्नै भोको भुँडी
दुईछाक जित्न नसक्ने चलायमान तेरा हातहरु
आफ्नै अस्तित्वको भ्रमसँग हारेको तेरो मस्तिष्क
मैलो, कालो र ठस्स गन्हाएको निर्धो तेरै शरीर
आफ्नै शरीरको बोझले लरखराएका खुट्टाहरु
सारा अङ्ग–प्रत्यङ्गमा मरेको छस्
खै ! कहाँ बाँचेको छस् तँ ?
ए मान्छे !
वनमा भोक र शहरमा स्वार्थको
गहिरो भेद बुझ्न नसकेर
बर्षौ पुरानो ईतिहासदेखि मरेको छस्
सत्व, रजर तमको त्रिगुणभित्र
सत्व हराएको क्षणदेखि मरेको छस्
उहिले औला छापको कपटमा मरेदेखि
अहिले सत्ता सामथ्र्यको पलटमा मरेको छन्
सत्ता र महापुरुष दुवै सुकिला सुक्सुकाउँदा,
तँ साबुनसम्म पुग्न नसकेर मरेको छस्
चकाचर्र्की नाराहरुको झुठो आश्वासनमा
आफ्नै आवाज हराएर मरेको छस्
झुप्रीको छानो छाउँन नसकेर मरेको छस्
पहिरोको उदण्डतामा पुरिएर मरेको छस्
पातलो कालो धुँवाको धर्सो नबल्दाचुल्होमा
स्वास्नी र सन्तानको चिता देखेर मरेको छस्
क्षणिक प्राप्तिको लालसमा लट्ठिएर
आफ्नै सोझोपन र बोधोपनमा मरेको छस्
समग्रमा जहाँतहीँ मरेको छस्
खै ! कहाँ बाँचेको छस् तँ ?
ए मान्छे !
मृत्युबाट टाढिनु बाँच्नु होइन
एकमुठ्ठी सातु–चामल पिठ्युँमा बोकेर
एकसर्को श्वास फेर्नु बाँच्नु होइन
एकधरो कपठाको झोला च्यापेर
मुटुको धुकधुकी तताउँनु बाँच्नु होइन
बाँच्नु त उद्देश्य स्थापना गर्नु हो,
उद्देश्यलाई मेहनतले प्राप्त गर्नु हो
प्राप्तिलाई स्वभिमानी शीरमा सजाएर
आत्मसम्मानमा रमाउँनु हो
बाँच्नु त आफू हाँस्नु र अरुलाई हँसाउनु हो
नीति र रितीको सुन्दर संरचनामा
लिनु–दिनुको समानता अनुभव गर्नु हो
त्यसैले, आफ्नो प्रारब्ध बदल्न
मृत्युबाट भाग्ने तेरा हजारौं दुस्प्रयासभन्दा
बाँचेर मृत्य वरण गर्ने एउटा सत्प्रयास गरेर हेर
बाँच्नेछस् पुस्तौ–पुस्ता बाँच्नुको अर्थ बुझेर ।
लण्डन, बेलायत