आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव

सोमबार, १५ वैशाख २०७७, १० : २७
सोमबार, १५ वैशाख २०७७

चीनको उहान सहरबाट सङ्क्रमणको सुरुवात भएको माहामारीले युरोप, अमेरिका हुँदै दक्षिण एसियामा समेत आतङ्कित बनाएको छ । विश्वमा भएको मानवीय क्षतिबाट मानव समाज अत्तालिएको छ । स्वास्थ्य उपकरणको कमी, स्वास्थ्य पूर्वाधार अभाव र जोखिम नियन्त्रणमा   पूर्वतयारी गर्न नसकेर बिरामीको मृत्यु बढेको छ । सन् २०१९ मा वार्षिक ७१७ बिलियन अमेरिकी डलर रक्षा बजेट छुट्याएको सम्पन्न र शक्तिशाली राष्ट्र अमेरिकामा समेत अस्पतालमा जरुरत पर्ने अति सघन कक्षको कमी भएको छ । यही कारणले सङ्क्रमित मर्नुपर्ने भयावह अवस्था बनेको छ ।

चीन जस्तो उदाउँदो अर्थतन्त्र भएको मुलुकले सन् २०१९ मा १७७ विलियन डलर घरेलु सेनालाई छुट्याएको थियो । उसले यो बजेटेको केही मात्रा स्वास्थ्य पूर्वाधारमा खर्च गर्न सकेको भए रातारात  कोरोना अस्पताल बनाउन पर्दैनथ्यो । इटाली, स्पेन, जर्मनी जस्ता युरोपियन देशले पनि रक्षा र सैन्य शक्तिमा खर्च गर्ने वार्षिक दस प्रतिशत मात्र बजेट कटौती गरेर स्वस्थ्य पूर्वाधारमा लगानी गर्न सकेको भए अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी हुने थियो ।

जसरी विकास तीव्रगतिमा अगाडि बढ्दै छ । प्रतिव्यक्ति औसत आयमा वृद्धि, औसत आयुमा वृद्धि, बाल मृत्युदरमा कमी र मानव विकास सूचकाङ्कमा उल्लेख्य  सुधार, सूचना प्रविधिमा जनताको पहूँचमा विस्तार, साक्षरता प्रतिशतमा गुणात्मक फड्को र अन्य नसर्ने रोगहरुमा प्राप्त गरेको सफलता विकासका मापक मानिन्छन् । त्यसको तुलनामा भाइरसजन्य सरुवा रोगका लागि स्वास्थ्य पूर्वाधार  र उपकरण आजको विश्वसँग विकल्प थिएन । यस्तो विपदको घडीमा पूर्वसावधानी र जनचेतनाले मात्र कोरोना नियन्त्रण काफी छैन । यस्ता प्रकृतिका रोगका लागि आफ्नो राष्ट्रिय आम्दानी र अर्थतन्त्रलाई सन्तुलन राख्दै गर्नुपर्ने पूर्व सावधानी र पूर्वाधारमा पनि जोड दिन सकेमा नियन्त्रणमा उल्लेख्य सुधार हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको प्रारम्भिक अनुमान अनुसार अझै  थप जनसङ्ख्या यसबाट सङ्क्रमित हुने पूर्वानुमानलाई ख्याल राख्दै यसको उपचारको शोधकार्य जारी नै छ ।

अर्थतन्त्रको महत्त्वपूर्ण पक्ष राष्ट्रिय उत्पादन र समग्र सूचकाङ्क विश्वका आर्थिक सम्पन्न राष्ट्र अमेरिका चीन, बेलायत, भारत हुन् या नेपाल जस्ता विकासोन्मुख देश सबैलाई दु्रतगतिले प्रभावित पारिरहेको छ । वाणिज्य र व्यापार, कृषि तथा पर्यटन, उत्पादन तथा वितरण, पु“जी परिचालन र वैदेशिक रोजगार जस्ता क्षेत्रहरुको प्रायः सबै देशका सूचकाङ्क तीव्र गिरावटमा दौडिरहेका छन् ।

वाणिज्य र व्यापार 
कोभिड–१९ को प्रभावले विशेष गरी वाणिज्य र व्यापारको  क्षेत्रमा ठूलो धक्का पु-याएको छ । उत्पादनमूलक औद्योगिक क्षेत्र ठप्प छन् । तेलको मूल्य जनवरीमा २० प्रतिशत तल झरेको छ र ओपेकले उत्पादन घटाउँदै लान परेको छ । उत्पादित वस्तु तथा सेवाले बजारको अभाव झेलिरहेका छन् भने उपभोक्तालाई उपभोग्य वस्तुमध्ये अति आवश्यक र सामान्य वस्तुको त सहजै आपूर्ति हुन नसकेको अवस्थामा विलासी सामग्रीको उत्पादन र खपत प्रायः शून्यमा झर्नु कुनै अस्वभाविक मान्न सकिँदैन । उत्पादित वस्तु तथा सेवाको कारोबारमध्ये अत्यधिक भार विलाशी वस्तुहरुको हुने हुँदा क्रमशः सामान्य र अति आवश्यक वस्तुहरुको बजार मूल्य भार कमी हुँदै जाने भएकाले बजारको कारोबार भार अत्यन्त न्यून रहेको छ ।

अमेरिका चीन र सूचना प्रविधिमा सहज पहुँच भएका देशहरुमा परम्परागत व्यापारिक माध्यमहरुबाट वस्तु तथा सेवाको उपयोग गर्नुभन्दा अनलाइन खरिद बिक्रीको अत्यधिक प्रयोग हुन पुग्छ । जसबाट अत्यावश्यक सेवाभन्दा उपभोक्ताले अन्य विलासी सामग्रीेको माग नगर्ने भएकाले स्वतः वस्तुहरुको माग कम हुन पुग्छ । इन्भेस्टोपेडियाका अनुसार विश्व अर्थतन्त्रमा प्रतिशतका हिसाबले २३.६ अमेरिका, १५.५ चाइना, ५.७ जापान, ४.६ जर्मनीको हिस्सा रहेका देशहरुमा वाणिज्य र व्यापार अन्तर्गत पर्ने सम्पूर्ण अवयवहरुमा घट्दोे प्रभाव देखिन पुगेका छ । यसले समग्र अर्थतन्त्रलाई उल्टो दिशातर्फ धकेलिरहेको छ । जसका कारण व्यापार निर्भर अर्थतन्त्र भएका राष्ट्रहरुमा आर्थिक सङ्कटतर्फ अगाडि बढिरहेको छ । 

कृषि र पर्यटन 
कृषि मानव जगतकै  अत्यधिक महत्त्वपूर्ण पेसा हो । यसबाट मानव जगतले जीवन निर्वाह गर्दछ । सबै वस्तुहरु विकल्पविहीन हुँदैनन् तर जीवन निर्वाहका लागि कृषि निर्विकल्प छ । खानाको विकल्प खाद्यन्न हो, यो कृषिबाट उत्पादित हुन्छ । व्यावसायिक कृषिको विकासमा तीव्र गतिमा अगाडि बढेका चीन, भारत, अमेरिका, रसिया, टर्की, इन्डोनेसिया, भियतनाम जस्ता मुलुकमा बाली विज्ञान, पशुपालन, कुखुरा पालन, मौरी पालन, मत्स्यपालन, वागबानी लगायतका क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । दुग्धजन्य एवं मासुजन्य परिकारले प्रशस्त बजार पाउन सकेका छैन । कृषि उद्यमीले उत्पादन गरेका  वस्तुहरु न्युन मूल्यमा बिक्री गर्न बाध्य छन् । यसले कृषिप्रधान देशको राष्ट्रिय उत्पादनमा नकरात्मक असर पुगेको छ । औद्योगिक राष्ट्रहरुमा खाद्य सङ्कट निम्तिन सक्छ । भण्डारण गरेको कृषि उपजले छोटो समयसम्म बजार मागलाई धान्न सके पनि दीर्घकालीन रूपमा चरम खाद्य सङ्कट आइपर्न सक्छ । यसले कतै अति मूल्य र कतै न्यून मूल्यमा कृषि उपज उपभोग गर्न बाध्य हुन्छन् । कतिपय अवस्थामा कृषकहरु उत्पादन लागतभन्दा न्यून मूल्यमा बिक्री गर्नुपर्ने र बजारको अभावमा त्यसै नष्ट गर्नेछन् ।

स्टाटिस्टा अनलाइनका अनुसार पर्यटन व्यवसायद्वारा जीडीपी योगदानमा बढी रहेका देशहरु मकाउ, माल्दिप, अरुबा, सेसेल्स र ब्रिटिस भर्जिन आइसल्यान्ड जस्ता मुलुकमा पर्यटन आवागमनको ग्राफ शून्यमा छ । वैदेशिक भ्रमणमा अन्तर्राष्ट्रिय उडान ठप्प छ । अन्तर्देशीय आवागमन बन्द भएका कारणले पर्यटन व्यवसायमा ऋणात्मक ग्राफ छ । होटेल, रेस्टुराँ, बार तथा क्लब र अन्य पर्यटनसँग सम्बन्धित मनोरन्जनात्मक गतिविधि रोकिएका छन् । यसबाट समग्र अर्थतन्त्र र उत्पादन वितरण प्रणाली एवम् आर्थिक गतिविधिमा गत्यावरोध भएका कारणले अन्य क्षेत्र सामान्य अवस्थामा रहे पनि यसलाई तङ्ग्रिन लामो समय लाग्नेछ ।

उत्पादन र वितरण 
सरकारी निकायले  कामदार एवं ज्यामीको आवागमनमा निषेध गरेपछि उत्पादनमूलक उद्योगमा ज्यामी पूर्ति कमी हुन पुगेको छ । उद्योगधन्दा बन्द भएका छन् । यसबाट चिन, जापान, अमेरिका नराम्ररी असर पु-याएको छ । अमेरिकाले अहिलेसम्म लक डाउन गरेको छैन । यसबाट बाँकी विश्वका मुलकहरुले भोग्नुपर्ने सम्भावित आर्थिक सङ्कटलाई पूर्वानुमान लगाएर अर्थतन्त्रलाई स्थिर राख्नलाई कोसिस गरिरहेको छ । आर्थिक महाशक्तिका रूपमा चिनिने विश्वव्यापी अर्थतन्त्रको लगभग एक चौथाइ हिस्सा ओगटेको उन्नत पूर्वाधार, आधुनिक प्रविधि र प्राकृतिक संसाधनको प्रचुुरताका बाबजुद अमेरिकाले सन् २००८ को आर्थिक मन्दीबाट पाठ सिक्दै मानवीय पक्षभन्दा आर्थिक पक्षलाई बढी ध्यान दिइरहेको छ ।

संसारभर अमेरिकी अर्थतन्त्रलाई मोडेल अर्थतन्त्रको रूपमा लिने राष्ट्रहरुमा पनि आर्थिक सङ्कटको सङ्केत देखा परेको छ । त्यसको प्रभावलाई स्थिर राख्न अमेरिका र ट्रम्प प्रशासनले अत्यन्त जोखिम उठाएका छन् । खुला बजार अर्थनीतिको अवयव भूमण्डलीकरणलाई नखल्बलाई राख्न सायद विश्वका अन्य देशभन्दा अमेरिकालाई दबाब बढी छ । राज्यको तहबाट नभए पनि अमेरिकी निजी क्षेत्रमा यसको प्रभावबाट निजी उद्यमी, निजी व्यवसायी र स्वतन्त्र नागरिकको आवागमनमा गिरावट आएकोछ । पर्यटन, होटल व्यवसाय सार्वजनिक ठाउँहरुमा भीडभाड कम हुन पुगेकाले समग्र अर्थतन्त्रलाई स्थिर राख्न निकै चुनौती छ ।
विगत केही दशकमा विश्वको उत्पादन र निर्यात केन्द्रको रूपमा विकसित हुने चीनलाई विशाल उत्पादन र निर्यात आधारलाई हेर्दा अक्सर विश्वको कारखाना भनेर चिनिन्छ । यद्यपि बितेका वर्षमा, सेवाको भूमिका विस्तारै बढेको छ र जीडीपी योगदानमा उत्पादन कार्य तुलनात्मक रूपमा घटे पनि दोस्रो ठूलो स्थान ओगटेको चिनियाँ अर्थतन्त्र पनि कोरोना भाइरसबाट ग्रसित छ । उत्पादनका साधानमा शिथिलता आएको छ । उत्पादनका साधानहरुको परिचालन गरेर वस्तु तथा सेवा अत्यधिक उत्पादन गरेर विश्वलाई चुनौती दिइरहेको चिनियाँ अर्थतन्त्र भने अहिले स्थिर अवस्थामा टिकिरहन र अन्य राष्ट्रको अर्थतन्त्रलाई उछिन्न मौका  छोपेर बसेको छ । अत्यावश्यक खाद्य सामग्री मेडिकल उपकरण तथा औषधि, कोरोना नियन्त्रण र सावधानीका सामग्रीले मात्र समग्र अर्थतन्त्रको उत्पादनको भारलाई उछिन्न सक्यो र डब्लूएचओले चिनियाँ मेडिकल उपकरणलाई सहज अनुमति दियो । यसले कोरोनाको ग्राफसँगै चीनको निर्यात ग्राफ बढ्न पुगेको छ । जसले अन्य क्षेत्रको उत्पादनलाई घरेलु जनसङ्ख्या खपतको अनुपातमा घटाई मेडिकल उपकरण उत्पादनलाई वृद्धि गर्न सक्छ । 

पुँजी परिचालन 
ससाना छरिएर रहेका पुुँजीलाई एकीकृत गरी पुँजी बजारको सिर्जना भएको हुन्छ । उत्पादनमूलक कृषि र पर्यटन एवं वैदेशिक रोजगारी समेत प्रभावित हुँदा ठूला र मजबुत अर्थतन्त्र भएका राष्ट्रदेखि वैदेशिक रोजगार एवं  कृषिमा आश्रित मुलुकहरुमा समेत यसले प्रभावित बनाउ“छ । सेयर बजारमा व्यापक गिरावट आउँछ भने म्युचल फन्ड, ओभर द काउन्टर मार्केटसमेत यसले प्रभावित बनाउ“छ । यस्तो अवस्थामा लगानीकर्ता, बजारको अभाव एवं अनिश्चितताले गर्दा पुुँजी परिचालन गर्न इच्छुक देखिँदैनन् । यसबाट पुुँजीमा सङ्कुचन हुन पुगी  पुँजी सङ्कट बढ्न जान्छ । यसको कारणले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परी राज्यलाई तिर्ने पुुँजीगत लाभ कर एवं परिचालित पुँजीबाट सिर्जित हुने प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा कटौती हुन पुगी आर्थिक विकासमा समेत नकरात्मक असर पर्दछ । बजारमा नयाँ उपकरणको प्रयोग गरेर बजार सन्तुलन कायम राख्न नियमनकारी निकायलाई दबाब सिर्जना हुन्छ । यसबाट बजार सन्तुलन गुमाउन नदिन सङ्कटपछि अत्यधिक पुुँजी परिचालनमा जोड दिन सक्नुपर्छ ।

वैदेशिक रोजगार
वैदेशिक रोजगारबाट जीडीपीमा नेपाल ३३, श्रीलङ्का ८.१, पाकिस्तान ६.८ र  बङ्लादेश ५.४ प्रतिशत योगदान पुर्याउने दक्षिण एसियाली  राष्ट्रहरुमा पनि नराम्रो प्रभाव पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नागरिकलाई काम गरिरहेको देशबाट घर फर्कन गरेको आह्वान एवं त्यस  देशको सम्भावित खाद्यसङ्कट तथा रोजगार कटौतीबाट हुन सक्ने समस्याका कारण वैदेशिक रोजगारमा पनि व्यापक गिरावट आउनेछ । विप्रेषणबाट अर्थतन्त्रमा पु-याएको योगदान समेत घट्न गई देशको आर्थिक विकासमा असर पुग्छ । 

नेपाल 
कृषि प्रधान मुलुक नेपालका ६५ प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । २० प्रतिशत भूभागमा मात्र खेती गरिने मुलुकको ४१ प्रतिशत भूभाग वन जङ्गल,  २९ प्रतिशत भूभाग हिमाल र पहाडले  ढाकेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषिबाट क्षेत्रबाट २७, सेबा क्षेत्रबाट ५१ र औधोगिक क्षेत्रबाट १४ प्रतिशत योगदान रहेको छ । सेवा क्षेत्रको विप्रेषणबाट मात्रै  कुल ग्राहस्थ उत्पादनमा ३३ प्रतिशत योगदान पुर्याएको छ । कोभिड १९ बाट नेपाल जस्तो विकासोन्मुख देशलाई नराम्ररी प्रभाव पारिरहेको छ । व्यापार, कृषि र पर्यटन, उत्पादन र वितरण, पुँजी परिचालन र वैदेशिक रोजगार जस्ता क्षेत्रहरुको सूचकाङ्क तीव्र गिरावटमा दौडिरहेका छन् ।

कृषि क्षेत्रमा उत्पादनको बजार अभाव भई  पर्ने असर, औद्योगिक उत्पादनमा आएको रोकावट भएको छ । वैदेशिक रोजगार प्रधान मुलुकमा विशेषगरी भारत, साउदी अरेबिया, यूएई र कोरिया जस्ता अत्यधिक विप्रेषण प्रदान गर्ने मुलुकमा महामारीले प्रत्यक्ष प्रभाव परेको छ । घरेलु सेवा क्षेत्रमा परेको प्रभाव, पर्यटन क्षेत्रमा देखिएको शिथिलताले कुल ग्राहस्थ उत्पादनमा कमी ल्याउने स्पस्ट देखिन्छ । यसबाट राजस्व परिचालनमा कमी आई विकास निर्माणमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदीप सुवेदी
सुदीप सुवेदी
लेखकबाट थप