ललितपुरमा दुई प्रहरीमा कोरोनाको आशंका !
ललितपुर - महानगरीय प्रहरी परिसर ललितपुर मातहतको एक प्रभागमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।
परिसरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले यसको पुष्टि गर्दै कुन प्रभागमा रहेको प्रहरीमा देखिएको हो खुलाउन चाहेनन् । उनले भने, ‘पिसिआरको लागि स्बाव संकलन गरिएको छ । त्यसको रिपोर्ट नआएसम्म केही भन्न सकिदैन ।’
एसएसपी राईले आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएका दुई प्रहरीको पिसिआर रिपोर्ट आज आउने जानकारी दिए ।
यसअघि महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएसँगै सो वृत्त सिल गरी सबै प्रहरीको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । परीक्षणमा सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएसँगै वृत्तको काम कारवाही सुचारु भएको छ ।