आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने

मङ्गलबार, २७ जेठ २०७७, १२ : १५
मङ्गलबार, २७ जेठ २०७७

भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । 

सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ माध्यमिक विद्यालयको पुनःनिर्माण हुनेछ ।

नेपालमा भूकम्पपश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २।९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयको पुनःनिर्माण गरिनेछ । 

भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । 

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनःनिर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । 

भूकम्पपश्चातको पुनःनिर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप