बजार
डिजीटल बजारमा सजाएको छु
तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाटी
सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई
म अचानोमा राख्दिनँ अब
बरू तिमीलाई
म
सहज मृत्यु दिन्छु अर्थात डिजीटल डेथ |
नव उदारवादी बजारले तिम्रो भोकलाई
हारालुछ गर्दै किन्न भीड लागेपछि हो
यो मल्टीप्लेक्स शहरको जिब्रो मा खटिरा निस्केको |
यो घोसे महानगरको मध्य भागमा
ठिंग उभिएको मुखाल्नी तरूणी जस्तो सापिङ मालको दैलोमा
तिम्रो बेइज्जत भएको अनुहारको बिज्ञापन टाँसेर
कमसेकम कुनै कम्पनी ले आफ्नो पेटपाला त गर्दैछ |
बजारले सखाप पारेको
डिजीटल सपनाको एम्टी पाकेटमा
के के खोजेर हैरान भएका किसानको
आधाकल्चो निन्द्रा किन्न फेरी
डल्लै अनलाइन बजारको दलाल गाउँ पसेका छन् |
डिजीटल सपिङ्गको बुट्टेदार मासुको बट्टामा
अर्डर गरेको कुनै अफ्रिकी वेरोजगार युवाको
कुपोषित वीर्य चाख्न
शहरको भर्जिन खोक्रो कुमारी सपना
छटपटाइरहेका छन् |
बजारले आजकल लाइभ बेचिरहेका छन्
मासुको हाट |
हावा थुनिएका शहरमा कैद भएका छन्
पसिनाको श्वास र उज्यालो हराएको बजारमा
लापता छन
सुकरातको एकजोर आँखा
गन्तव्य हराएको आधावैशे बाटोमा
कैडा लागेको छ समयको खुट्टालाई
बजारले थुतिसकेको छ छुरा जस्तो धारिलो बस्तीको जिब्रो
कानको प्वालमा उमारी दिएको छन्
मसिनको जरा |
सडकका कागजसम्मलाई
एउटी अगति आईमाईको रजस्वला मा चोबेर
रातो गुलाब उमार्छन अनि बेच्छन्
माया पिर्थीको कालो बजारमा |
बजारले बौलाहा बनाएको एउटा
बडीबिल्डरको आधाकल्चो पाखुरा कराई हिँड्छ
कसैको बजार बोकेको थाङने झण्डा बोकेर |
हरेक थोकलाई चम्काएर यसरी
अन्धो बनाई दिनु नै बजार को बिशेषता हुन|
युवाहरु को मस्तिष्क लाई चिहान बनाएर
नचाई रहेछन् डिजिटल मृत्यु को नृत्य |
आउनोस अब तपाईं पनि मन्दिर छोडी
डिजीटल ध्यान शिबिर
जहाँ आँखै खोलेर पनि मोक्ष प्राप्त हुन्छ
ईश्वरहरु तपाईं कै अघि छम छम नाच्छन्
किनकि अब ईश्वरहरूलाई पनि बजारले किडन्याप गरेको छ