कविता
अध्यागमन र बाटाहरू
शनिबार, ०६ असार २०७७, १० : ०८
-साकार बाबु सुवेदी
धर्ती यही हो,
मनमा माताझैँ आदर भएपनि,
संघारमा साहुको स्वागत नगरी,
झिसमिसे मैँ बस्ति पार गर्दै हिँडेको ।
माटो यही हो,
धरधरी मनबाट वर्षिए पनि,
भिज्न नसकेर खडेरी परेका खेतमा,
नियति भन्दा कठोर डल्लाहरू छोडेर हिँडेको ।
घाम यही हो,
जस्ताको प्वालबाट देखिने,
लाखौं विन्तिपछि पनि बिहान हुनै पर्ने ?
व्यर्थको अनुनयपछि अँध्यारैमा हिँडेको ।
बाटो यही हो,
रसाउन नसकेको हृदय,
अनि बसाउन नसकेको पुष्प छोडेर
कैयौँ अघि पिठ्युँ फर्काएर हिँडेको ।
एक अन्तराल पछि,
पाइलाले चिनेछन् माटाहरू,
पिठ्युँले अनुभुत गर्दै छ चर्का घामहरू,
तर मनले अत्मसात गर्न सकेनन् मेरा बाटाहरू ।
मध्यान्तर लगत्तै,
छोडेर हिँडेको जीवन जस्तै,
आकाँक्षाका एकाङ्कीहरू पूरा हुन नसकेर,
मेरो परिचय माग्दै छ बिरानो झैँ आफ्नै धर्तीले ।