आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्झनामा माइकल ज्याक्सन –जसले गिनिज बुकमा मात्रै २३ किर्तिमान राखे

बिहीबार, ११ असार २०७७, १५ : ४८
बिहीबार, ११ असार २०७७

माइकल ज्याक्सन को थिए ? सायद यसको जवाफ कुनै बालकले पनि सहजै दिनसक्छ । ‘किङ अफ पप’ माइकल ज्याक्सनले थ्रिलर, ब्याड र ज्याक्सन फाइभजस्ता  लोकप्रिय एल्बमसँगै उत्कृष्ट डान्स भिडियोहरु छाडेर गएका छन् र यसैबाट प्रेरित भएर विश्वमा ठूला सेलिब्रेटीहरु जन्मिएका छन् । अझै पुस्तौँसम्म उनले नयाँ प्रतिभाहरुलाई प्रेरित गर्नसक्छन् । विश्व इतिहासकै सबैभन्दा ‘ठूला इन्टरटेनर’ मानिएका ज्याक्सनले संसार छाडेको आज ११ वर्ष भयो ।

‘अल्फा–१ एन्टिट्राइसिन डिफिसियन्सी’ नामक दुर्लभ वंशाणुगत रोगबाट ग्रस्त भएपछि ज्याक्सनको फोक्सो र कलेजोमा समस्या देखिएको थियो । त्यसमाथि, उनी थिए– लागुऔषध दुव्र्यसनी । त्यसैले, ५१ वर्षको उमेरमा लसएन्जल्सस्थित आफ्नै घरमा हृदयघात भएका ज्याक्सनलाई अस्पताल पुग्नासाथ मृत्यु घोषित गरियो । चिकित्सकहरुका अनुसार अस्पताल आइपुग्नअघि घरमै ज्याक्सनको मृत्यु भइसकेको थियो । उनको मृत्युको खबर सुरुमा संसारले पत्याउनै सकेन । विश्वभरका प्रशंसकहरुले विश्वसनीयता परीक्षणका लागि पटक–पटक इन्टरनेट सर्च गरे, जसकारण क्यालिफोर्नियाको स्थानीय समयअनुसार ३ बजेर १५ मिनेट जाँदा प्रयोगकर्ताको अत्याधिक चापले गुगल विकिपेडिया, ट्विटर र एओएल एकै समय डाउन भयो । मृत्युको एक दशकपछि पनि सर्वाधिक आम्दानी गर्ने मृतक सेलिब्रेटीको सूचीमा पहिलो स्थानमा रहनुले उनी अझै धेरैको मनमै छन् भन्ने देखाउँछ, गत वर्ष उनको कमाई ६० मिलियन डलर थियो ।

२९ अगस्ट सन् १९५८ मा अमेरिकाको गेरी इन्डियानामा ज्याक्सन जन्मिएका थिए ।  उनले ५ वर्षको उमेरमै दाजुहरू ज्याकी, टिटो, जर्माइन र मार्लोनसँग मिलेर ‘ज्याक्सन ५’ सांगितीक समुहमार्फत गायनमा डेब्यु गरेका थिए । सन् १९६९ मा रिलिज भएको ‘आई वान्ट यु ब्याक’ ले ज्याक्सनलाई भविष्यका स्टारका रुपमा स्थापित ग¥यो । सन् १९७५ मा उनले एपिक रेकार्डसँग सहकार्य गरे अनि समुहको नाम बदलेर ज्याक्सन्स बनाए । त्यसपछि इन्जोय सेल्भ, शेक योर बडीलगायत पप गीतहरु चर्चा रहे । १९७९ मा सार्वजनिक ‘अफ द वाल’ एल्बम ७० लाख प्रति बिक्री भयो र यस समावेश ‘डन्ट स्पट’, ‘टिल यू गेट इनफ’, ‘रक विथ यू’ लगायत गीत धेरै चले ।

सन् १९८२ मा रिलिज भएको माइकलको ‘थ्रिलर’ एल्बम संगीत क्षेत्रमा नयाँ इतिहास रच्न सफल भयो र यो विश्वमै सबैभन्दा धेरै बिक्री भएको एल्बम हो । शीर्ष गीत ‘थ्रिलर’ सहित ‘वान्ना बि स्टार्टिङ समथिङ’, ‘बेबी मि माइन’, ‘द गर्ल इज माइन’, ‘बिट इट’, ‘ह्युमन नेचर’, ‘द लेडी अफ माई लाईफ’ लगायत एल्बममा समावेश सबै गीत अति नै लोकप्रिय भए ।  एल्बमको आधिकारिक बिक्री ४ करोड ३० लाखभन्दा धेरै छ । अनाधिकृत तथा अन्य माध्यमसमेत जोड्दा यो एल्बम संसारभर १० करोडप्रतिभन्दा धेरै बिक्री भएको अनुमान गरिन्छ ।

यही एल्बममा समावेश ‘बिल्ली जिन’ को भिडियो एमटिभीबाट प्रशारण हुने अश्वेत कलाकारको पहिलो म्युजिक भिडियो हो, चर्चित डान्स स्टेप ‘मुनवाक’ का कारण पनि ‘बेल्ली जिन’ चर्चामा छ । सन् १९८३ मा एक टेलिभिजन शृंखलाका दौरान ज्याक्सनले स्टेजमा देखाएको यो डान्स स्टेप कालान्तरमा उनको पहिचान नै बन्यो । सन् १९८४ मा ‘थ्रिलर’ एल्बमले ग्रेमी अवार्डमा एकैपटक आठवटा विधामा अवार्ड जितेपछि गोराहरुको एकाधिकार रहेको संगीत क्षेत्रमा माइकल ज्याक्सन नयाँ खम्बाका रुपमा खडा भए । त्यसो त ज्याक्सनकै स्वर रहेको ब्याड, अफ द वाल, डेन्जरस र हिस्ट्रीलगायत एल्बम पनि करोडौँ प्रति बिक्री भएका छन् ।

त्यसो त ज्याक्सन सबैभन्दा धेरै अवार्ड जित्ने कलाकार हुन् । उनको नाममा गिजिन बुकमा २३ वटा किर्तिमान दर्ता छ । उनले बिलबोर्ड अवार्ड ४० पटक, ग्रेमी अवार्ड १३ पटक र अमेरिकन म्युजिक अवार्ड २६ पटक जितिसकेका छन् । हलिउड वाल अफ फेममा ज्याक्सनको नाममा दुईवटा तारा राखिएका छन् । एउटा उनको एकल नाममा र अर्को उनीसहित उनका दाजुभाईको गायन समुह ‘ज्याक्सन फाइभ’ का नाममा ।

बाल यौन दूराचारको विवाद

सन् २००३ मा प्रहरीले ज्याक्सनको नेभरल्यान्डस्थित घरमा छापा मा¥यो । जहाँ प्रहरीले केही अश्लिल पुस्तक, पत्रिका र अन्य त्यस्ता पोर्न भिडियो सामाग्री बरामद गरेको थियो । पुलिस रिपोर्टमा लेखिएअनुसार यस्ता दस्तावेजको प्रयोग बच्चामाथि यौन शोषण गर्ने मानिसहरुले आशंका गर्थे । यससँगै ज्याक्सन विवादमा तानिए । २००५ मा उनीविरुद्ध बाल यौनदूराचारको मुद्दा चल्यो र १४ दिनको सुनुवाई पछि आरोपमुक्त भए । त्यसयता विभिन्न समयमा गरेर उनीमाथि ७ जनाविरुद्ध बाल्यकालमा यौन शोषण गरेको आरोप लाग्यो । गत वर्ष जनवरीमा ज्याक्सनमाथि लागेको यौन दुराचारको मुद्दाबारे ‘लिभिङ नेभरल्यान्ड’ नामक डकुमेन्ट्री नै बनेको थियो । ज्याक्सनसँगै नेभरल्यान्डमा आफ्नो बाल्यकाल बिताएका र उनीसँग धेरैपटक नृत्य तथा गायन प्रस्तुति दिएका दुई कलाकार वेड रोब्सन र जेम्स सेफचुकले आफुहरुमाथि भएको दुराचारबारे यस डकुमेन्ट्रीमा बिस्तृतमा बताएका छन् । यद्यपी, कतिपय कलाकारहरु उनीमाथि लागेको दुराचारको आरोप गलत रहेको बताउँछन् ।

प्रेम, विवाद र उदारता

रहस्यमय जीवनका बाबजुद ज्याक्सन उदार मनका धनी र प्रकृतिप्रेमी थिए । उनले सुन्दर देखिन र लामो आयु बाँच्नका लागि केसम्म गरेनन् ? प्लास्टिक सर्जरी  गर्नेदेखि केही वर्ष अक्सिजन टेन्टमा सुत्ने काम समेत गरे । तर, एकपटक क्यालिफोर्नियास्थित एक मेडिकल सेन्टर घुमेपछि ज्याक्सनको मन फेरियो, उनले आफ्नो अक्सिजन बेड त्यस अस्पताललाई दान थिए, जहाँ आगलागीमा परेर शरीरका अंग जलेकाहरुको उपचार हुन्छ । संगीतबाहेक ज्याक्सनको अर्को पाटो प्रकृति तथा जनावरप्रतिको प्रेम हो । कुनै समय ज्याक्सनको घर जनावर संरक्षण गर्ने थलो थियो । बबल्स नामको चिम्पान्जीलाई त उनी आफ्नो सांगीतिक टुर, अवार्ड तथा टेलिभिजन कार्यक्रममा पनि लैजान्थे र कोठामै राख्थे । यो चिम्पान्जीले ज्याक्सनलाई पछ्याउँदै मुनवाक स्टेप पनि गथ्र्यो, ज्याक्सन बबल्सलाई आफ्नो छोरा भन्थं । तर जति ठूलो हुँदै गयो बबल्स त्यति नै सन्काहा र रिसाहा बन्यो, जसकारण ज्याक्सनले बाध्य भएर यसलाई फ्लोरिडास्थित वन्यजन्तु संरक्षण कोषको जिम्मा लगाइदिए । बबल्सकै यादमा यसपछि उनले अन्य दुई चिम्पान्जी म्याक्स र एजे पनि पाले ज्याक्सनको मृत्युपछि यीमध्ये एउटालाई कोरियन चिडियाखाना र अर्कोलाई कान्सास ब्रिडिङ फ्यासिलिटीमा पठाइयो । यसबाहेक उनले आफुसँगै दुई कुकुर पनि राखेका थिए । ज्याक्सनले नेभरल्यान्ड रान्चमा छँदा आफ्नो कम्पाउन्डभित्र गुरिल्ला, बाघ, जिराफ, सुँुगा, भेडा, अस्ट्रिचलगायत जनावर पनि पालेका थिए । तर बाल यौन दूराचारको विवादपछि नेभरल्यान्ड छाडेका ज्याक्सन २००५ मा सफाई पाएपछि पनि यहाँ फर्किएर आएनन् । त्यसपछि यहाँका जनावरहरुलाई ज्याक्सनकै पहलमा विभिन्न संरक्षण कोषको जिम्मा लगाइयो । ज्याक्सनको मृत्यु भएको तीन वर्षपछि फोक्सोको क्यान्सरबाट ‘थ्रिलर’ नामक उनको बंगाली पोथी बाघको मृत्यु भयो । २००६ मा ज्याक्सनकै इच्छाअनुसार

यो बाघलाई क्यालिफोर्नियास्थित साम्बाला वन्यजन्तु संरक्षण क्षेत्रको जिम्मा लगाइएको थियो ।

स्रोत : विभिन्न वेबसाइटहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप