एक सातामा भक्तपुरमा दुई किशोरी बलात्कृत
भक्तपुर । एक सातामा भक्तपुरमा दुई जना किशोरी बलात्कृत भएका छन् ।
गत जेठ ३१ गते चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा १३ वर्षकी र असार ४ गते मध्यपुरथिमिमा एक १४ वर्षकी किशोरी बलाकृत भएका हुन् ।
पीडित किशोरीहरुका आफन्तले दिएको जाहेरीको आधारमा घटना संग्लन दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।
पीडित किशोरीकी हजुरआमाको जाहेरीमा भनिएको छ, ‘जेठ ३१ दिउँसोको समयमा मेरी नाबालक बर्ष १३ की नातिनीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी जबरजस्ती करणी गरेको हो । ’
किशोरीलाई चाँगुनारायण न.पा. १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्दै प्रहरीले रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३५ का जबर खड्कालाई असार ६ गते पक्राउ गरेको छ ।
खड्कालाई पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी अर्को घटनामा असार ४ गते काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. १ बस्ने बर्ष २१ को सोमराज परियारले १४ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी छिन् ।
परियारले दिउँसोको समयमा १४ वर्षकी किशोरीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर ठिमी न.पा. वडा नं. ९ निलबाराही जंगलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडित किशोरीको आमाले दिएको किटानी जाहेरी दरखास्तको आधारमा परियारलाई ५ गते पक्राउ गरी कानूनी प्रक्रिया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।