आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको बजेट पारित

शुक्रबार, १२ असार २०७७, १७ : १६
शुक्रबार, १२ असार २०७७

चितवन । भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा नगरप्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएको  छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रम कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित भएको छ । महानगरपालिकाको छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कोभिड केन्द्रित भएको हो ।  

प्रमुख तथा उपप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगर सभा सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । नगरसभा सदस्यहरूले नीति तथा कार्यक्रमप्रति सकारात्मक सुझाबहरू आएको भन्दै यसलार्ई समेट्दै नीति तथा कार्यक्रमलाई अझै प्रभावकारी बनाइदै लैजाने प्रमुख दाहालले बताइन् ।

समापन समारोहमा नगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीयय अधिकृत प्रेमराज जोशी, वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा न १० का अध्यक्ष तथा प्रवक्ता अरूण पीडित  भन्डारीले छैटौँ नगर सभाको समापन समारोहलााई सम्बोधन गर्दै पारित नीति तथा कार्यक्रम र बजेटलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्न सबैको सामुहिक प्रयास आवश्यक हुने धारणा राखेका थिए ।

नीति कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित छ  ।

त्यसैगरी महानगरबासीहरुको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बानाउन बजेट केन्द्रित भएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै सिंगो मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताइन् । महानगरले कोरोना संक्रमणसँग जुध्न भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र कोभिड १९ प्रयोगशाला स्थापना गरेको भन्दै उनले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएको बताइन्।

महानगरपालिकाले बितेका तीन वर्षमा साना ठूला गरी करीब ३०० किलोमिटर सडक कालोपत्रे, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेशजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको  बताउँदै नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटलाई कडाइका साथ कार्यन्वयन गरेर सिङ्गो भरतपुर महानगरपालिका निर्माणमा जुट्न आग्रह गरिन् । 

सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले बितेका ३ वर्षमा गरेका र आगामी आर्थिक वर्षमा गरिने कामहरूको विवरण प्रस्तुत गरिन् ।

महानगरकै पहलमा चौबिसकोठी–चनौली–मेघौली सडक बैकल्पिक सहायक राजमार्गमा स्तरोन्नति भएको, भरतपुर विमानस्थल प्रादेशिक विमानस्थलको रुपमा रुपान्तरण भएको भन्दै उनले अन्य केही ठूला आयोजनाहरु तीव्र रुपमा अघि बढिरहेको बताइन् ।

महानगरपालिकामा हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, ६ वटा निर्देशिका, ३३ वटा कार्यविधि, ४ वटा मापदण्ड तथा एक आचार–संहिता गरी ६४ वटा कानुनहरु निर्माण भई कार्यान्वयनमा आएको उनले जानकारी दिइन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले कृषकलाई व्याजमा अनुदान, एक कस्टम हायरिंग केन्द्र स्थापना गरिने, बीउबिजन र मल वितरणमा अनुदान दिने,  पुरिएका र जीर्ण सिंचाई नहरहरूको पुननिर्माण गरिने बताइन् ।

कृषि उपजहरुलाई सहज रूपमा बजारसम्म लैजानका लागि कृषि क्षेत्रसम्म पुग्ने पूर्वाधारहरुको विस्तार गरिने, सबै हाटबजारहरुमा स्वदेशी उत्पादनमात्र बिक्री गर्न “हाम्रो हाटबजार स्थानीय उत्पादन” कार्यक्रम संचालन गरिने उनले जानकारी दिइन्

यस्तै कृषि सूचना प्रणालीको विकास गर्ने,  कृषियोग्य जमिन बाँझो राख्न नदिइने, खेतीयोग्य जमिन विपन्न तथा लक्षित वर्गका किसान, समूह विशेष वा सहकारीलाई कृषि प्रयोजनका लागि अल्पकालीन भाडामा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माण, समन्वय र सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइने नीति भरतपुर महानगरपालिकाले लिएको छ ।

छैटौँ नगर सभामा सक्रियतापूर्वक सहभागी भइ सभ्य र भब्य ढंगले सफल बनाउन  सहयोग गर्ने नगरसभा सदस्यहरू, कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप