आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक दीपक परियार जसले अघिल्लो दिन गीत रेकर्ड गराए, दोस्रो दिन आत्महत्या गरे

शनिबार, १३ असार २०७७, १७ : ५४
शनिबार, १३ असार २०७७

बुटवल। शुक्रवार रुपन्देहीमा झुन्डिएर आत्महत्या गरेका लोक गायक दीपक परियार अघिल्लो दिनसम्म नयाँ  गीतको रेकर्डिङमा व्यस्त थिए । तर बिडम्बना उनले भाेलिपल्ट आत्महत्याकाे बाटो रोजे । 

 उनको जन्मदेखि आफैले नकमाउने बेलासम्मको जीवन कहालीलाग्दो थियो । गत वर्ष  मात्र सानैमा छाडेर बेपत्ता भएकी आमा  २० वर्ष पछि भेट हुँदा हर्षबिभोर थिए गायक परियार । त्यो खुसीमा उनले आमामा समर्पित गीत पनि गाएका थिए । 

गुल्मीको चन्द्रकोट गाउँपालिकाका स्थायी बासिन्दा  उनको बाल्यकाल आमाको ममताबिनै बित्यो । आमाले छाडेर दोस्रो  बिवाह गरी भारततिर बेपत्ता भएकी थिइन् । बाबुले पनि अर्काे बिहे गरेर हेरेनन् ।  कसैको साथ नपाए पछि ईन्द्रेगौडामा रहेकी फुपुको छत्रछायामा हुर्किए उनी । हुर्केपछि बुटवलमा सिलाउने पेसा गर्न थाले । दौरा सुरुवाल पोशाक र नौमती बाजाको प्रचारमा महत्त्वपूर्ण भूमिका पनि निभाउदै थिए । 

मृत्युकाे केही केही दिन अघि यस संवाददातासँग हाँसीखुशी भेटिएका उनी अर्को गीत निकाल्ने तयारीमा रहेको सुनाउँदै थिए । एक्कासी शुक्रबार रुपन्देहीमा उनी झुन्डिएर आत्महत्या गरेको खबरसँगै उनका फ्यान र आफन्तजन शोकाकुल बनेका छन्। 
 रुपन्देहीको तिलोत्तमा–१० कान्छी बजारमा बस्दै आएका परियारलाई शुक्रबार बिहान आफन्तले झुन्डिएकाे अवस्थामा फेला पारेका थिए । लगत्तै भैरहवा मेडिकल कलेजमा उपचारका लागि लगिएकामा त्यहीँ मृत्यु भएकाे  इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले बताए।

कान्छी बजारमा आफन्तकाे घरमा बस्दै आएका ३२ वर्षिय दीपक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सदस्य समेत थिए । परियारले  केही वर्ष यता रुपन्देही बसेर आफ्नो कलाकारितालाई अगाडि बढाउँदै आएका थिए ।
 बिहीबार मात्रै  उनले नयाँ गीत रेकर्ड गराएका उनले दर्जनौं गीत गाएका छ्न् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप