कविता
एक विद्रोहीको आत्मकथन
शनिबार, २७ असार २०७७, १० : २८
-राममणि सिटौला
मैले हेर्न खोजेको थिएँ
तिम्रो ऐनामा
मेरो पनि छवि
मागेको थिएँ
यो धर्तिमा टेक्नलाई
एक पाउ जमिन
विशाल समुन्द्रमा
प्यास मेट्नलाई
एक घुट्को पानी
अथाह आकाश मुनि
शिर लुकाउन
सानो छत
कोर्न चाहेको थिए
हक र नागरिकताको रंगले
मेरो पनि सुन्दर चित्र
उतार्न खोजेको थिए
सप्तरंगी इन्द्रेणीले भरिएको
कोलाज
तिमीलाई सह्य भएन
यी सब
दौडिए तिम्रा अहमका घोडा
क्यानभासमा
छोडिदिए टापका निशान
खण्डित भए
मेरा बिम्ब
तिम्रा कुदृष्टिका मारले
म फगत विद्रोही होइन
म हुँ एक अपमान
एक घृणा
एक जीवन
जसलाई तिमिले गाड्यौ
घनघोर अन्धकारमा
जसलाई तिमीले घचेट्यौ
धेरै योजन पछाडि
कुल्चिनु कुल्चियौ
तिमीले मलाई
घाँस सम्झिएर
अब म कुल्चिन्छु
तिमीलाई