आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार

सोमबार, ०५ साउन २०७७, ११ : ३९
सोमबार, ०५ साउन २०७७

भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ । 

भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न जाने ठाउँ हो तर सीमामा चेकपोष्ट नहुँदा अवैध तवरले सामग्री आउने गरेको पशुपतिनगर भन्सार प्रमुख गजेन्द्र भट्टराईले बताए  । नेपाल भित्रिएको सामानको रसिद बनाइदिने भन्दा पनि कतिपय भने हतोत्साहित भएर कार्यालयमा दर्ता नै नगर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताए । 

यसैबीच सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका चार वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनःस्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।

इलामको हिले, बन्दुकेलगायतका भन्सार अझै स्थापित भएका छैनन् । विस्थापित कार्यालयमध्ये अहिले छब्बिसे, मानेभन्ज्याङ र तुम्लिङ पुनःस्थापित भएका छन् । कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि नेपाल–भारत सीमामा रहेको पशुपतिनगर नाका प्रभावित भएको छ । कोरोनाका कारण सीमा अवरुद्ध भएपछि भन्सारको राजस्वमा कमी आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप