बाढीले घेरेपछि ४ घन्टा रुखमा बसेर ज्यान जोगाए
रौतहट । रौतहटको कटहरिया गमहरिया घाट लालबकैया नदीमा एक्कासी आएको बाढीमा फँसेपछि एकजना वृद्धसहित २ जनाले ४ घन्टा रुखमा बसेर ज्यान जोगाएका छन् । घरबाट कटहरिया बजारतर्फ जानेक्रममा लालबकेया नदीमा एक्कासी आएको बाढीले घेरेपछी फतुवा बिजयपुर नपा–१ गमहरियाका ६४ वर्षीय सर्वजित महरासहित २ जनाले ४ घन्टा रुखमा चढेर ज्यान जोगाएका हुन् ।
नदीको पश्चिमतर्फ पुग्दा अगाडि पछाडिबाट पानीको ठूलो भेलले उनीहरु घेरिएका थिए । दुवै जना ४ घन्टा सिसौको रुखमा बसेर ज्यान जोगाएको स्थानीय प्रत्यक्षदर्शी बिधानन्द यादवले बताए ।
मङ्गलबार साँझ पानीको बहाव घटेपछि ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहको कमान्ड गएको सशस्त्र प्रहरीसहितको टोलीले सर्वजीतसहित अन्य ६ जनालाई सुरक्षीत उद्वार गरेका थिए ।
लालबकैया नदीमा पटक–पटक आएको बाढीले मौलापुर नपा–१ मर्यादपुर गाउँ छेउमा ५० बिगहा भन्दा बढी खेतीयोग्य जग्गा कटान गरेको छ । मर्यादपुर बिनवाटोलभन्दा दक्षिण लछुमन साह, सुरेन्द्र यादव रामविश्वास मुखिया, लक्षमी नारायण कलाकारलगायतको ५० बिगहा खेती गोग्य जग्गा कटान भएको उमाशंकर यादवले जानकारी दिएका छन । त्यसैगरी अविरल वर्षाले कटहरिया–२ हंथियाही र बडका बडेरावा बीचको १५ फिट लामो कल्भर्ट बगाउँदा आवतजावत बन्द भएको छ । अविरल वर्षा र बाढीको पानी जिल्लाको प्रायः सबै स्थानीय तहमा जमेको छ ।
यसैबीच गत रातिदेखि वर्षा बन्द भएसँगै जिल्लाको नदि खोलाहरुमा पानीको सतह घट्दै गएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रवीनराज कर्णजीतले बताएका छन् । जिल्लाको पूर्वी भेग ब्रह्मपुरी गाउँ नजिक बागमती नदिले र पश्चिम भेग तेजापाकड गाउँनजिक लालबकैया नदीले तटबन्ध कटान गरिरहेको सशस्त्रका एसपी कर्णजीतले जानकारी दिए । कटान भैरहेको दुबै स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा जालीभित्र बोरामा बालुवा राखेर बाँस गाडेर नियन्त्रणको प्रयास भैरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।