तारणहार !
- प्रकाश तिवारी
जहाँ हरेक ताली र
वान्समोरको पछाडि
स्वार्थको जालो हुन्छ ।
जहाँ हरेक तथास्तु र
प्रसंसाको आवरणमा
स्वार्थको भड्खालो हुन्छ ।
त्यहाँ एक खाँटी अभिनयकर्ता
कुकुरको मृत्यु मर्छ ।
त्यहाँ एक चटकी पाखण्डी
पुच्छर पक्री बैतरणी तर्छ ।
किन यस्तो रित यहाँको ?
कस्लाई सोधुँ ?
सोध्न लायक कमै देख्छु ।
जीवनका हरेक रङ्गमञ्च,
यत्रतत्र सर्बत्र
नाङ्गो नितम्वको वान्समोर !
थामिनसक्नु भो मनको उकुशमुकुस ।
सुनिदिने कोही नभेटेपछि
कवितामैँ मनको बह पोख्छु ।
पिपलको पात फड्कार्दै
आएको थियो एक तीलश्मी हावा ।
देखेन कसैले, चुमेन कसैले !
हेलो माइडियर भन्दै
धापमार्ने नभेटेपछि
ऊ पनि मुखमोडि मुग्लान पस्यो ।
सुन फलाउँछु भनी
अनौ हलो समाएको थियो
अर्को एक उर्बर युवाले
क्याबात ! भनिदिने कतै नदेखेपछि
त्यसले पनि रामराम भन्दै खरानी घस्यो !
तथापि अझै धर्मराएको छैन आशा !
देखिरहेको छु एक
जाज्वल्यमान तारा सुदूरपार ।
ऊ एक दिन अबश्य उदाउँछ रे
मेरो देशको आकाशमा एक बार ।
अन्धकारको साम्राज्यबाट,
म उस्लाई आइ लभ यु भन्छु ।
ए वादल लौ न पुर्याइदे
उसामु मेरो मनको तार
म फ्यान, म प्रेमी उसको
ऊ नै अन्तिम तारणहार !