ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध
ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ ।
ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए । यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनुमती दिएन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधीलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।
ट्वीटरका अनुसार ट्रम्प जुनियरको भिडियो कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो ।
ट्वीटरले बीबीसीसँगको कुराकानीमा आफूले ती व्यक्तिहरुलाई आफ्नो नीति अनुसार कारवाही गरेको जानकारी दिएको छ ।
यद्यपि, प्रतिबन्धकै बीच पनि ट्रम्प जुनियरले आफ्नो अकाउन्टलाई ब्राउज गर्न सक्नेछन् र प्रत्यक्ष मेसेज पठाउन सक्नेछन् ।
स्रोतः बीबीसी