आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको बढ्दो कहरबीच सन्तानलाई विद्यालय पठाउन अभिभावकको संघर्ष

मङ्गलबार, २० साउन २०७७, ०८ : २९
मङ्गलबार, २० साउन २०७७

पहिलो पटक आफ्नो सन्तानलाई विद्यालय पठाउन कोही पनि अभिभावकका लागि सहज हुँदैन । विद्यालयमा कस्ता शिक्षक होलान्, कसरी पढाउने होलान्, बच्चालाई नयाँ तालिकासँग कसरी बानी पार्ने होला भन्नेलगायतका थुप्रै तनाव हुन्छन् तर यही तनावका बीच अर्को भयानक तनाव छ – कोभिड–१९ । यस्तो अवस्थामा आफ्ना सन्तानलाई विद्यालय पठाउनु भनेको आफ्नो मुटुलाई बाहिर राखेर सास फेरे सरह हो ।

अमेरिकामा संक्रमितको संख्या संसारकै बढी छ र दिनानुदिन बढ्दो क्रममा छ ।

सोमबार बिहानैदेखि राचेल एडामसलाई यस्तै कुराले सताइरहेको थियो । दक्षिण अमेरिकी राज्य जर्जियाकी उनी आफ्नो सात वर्षे छोरा पललाई कक्षा दुईका लागि र पाँच वर्षीया नेभालाई किन्डरगार्टेनमा पहिलो पटक पठाउनका लागि तयार पार्दै थिइन् ।

यस हप्ता अमेरिकाका केही राज्यमा नयाँ शैक्षिक सत्र सुरु भए । आफ्ना सन्तानको शिक्षाको निमित्त विद्यालय जानैपर्छ भन्ने सोच राखेर एडामसले आफ्नो डरलाई थुम्थुम्याउने कोसिस गरिरहेकी छिन् । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार पुगेको छ । विभिन्न राज्यमा संक्रमितको संख्या बढ्दो क्रममा छ ।

एडामसले बच्चाहरु तयार पारिन् । उनी अब बस आउने प्रतिक्षामा थिइन् । तर उनले जब स्कूलको बस देखिन् तब आँसु रोक्न सकिनन् ।  

‘मैले नरुन असाध्यै प्रयास गरेँ ।  पहिलो पटक बच्चाहरुलाई स्कूल पठाउँदा म रुने खालकी थिइनँ,’ एडामसले भनिन् । एडामसकी एलाबामामा बस्ने काकीको कोरोनाका कारण ज्यान गयो र उनका श्रीमानका काका बुवाको न्यूजर्सीको नर्सिङ होममा कोरोनाका कारण मृत्यु भयो ।

‘यो मेरा लागि अहिलेसम्मको सबैभन्दा कठिन परिस्थिती हो ।’

एडामसका सन्तान जर्जियाका ती दसौं हजार विद्यार्थीमध्ये एक हुन् जसको विद्यालय लगभग तीन महिना पछि पहिलो पटक सोमबार खोलिएको छ ।

जर्जियाका ९ जिल्लाले ‘फेस–टु–फेस’ कक्षा सञ्चालनमा ल्याएको छ । यसमा घरमै बसेर अनलाइन कक्षा लिन सकिने विकल्प पनि दिइएको छ । यस्तै अन्य तीन जिल्लामा गत हप्ता नै फेस–टु–फेस कक्षा सञ्चालनमा आइसकेको छ । जर्जियाका पाँच जिल्लाले सोमबारदेखि अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

लुसियान र टेनेसीमा पनि यस हप्तादेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । हवाईका विद्यालय मंगलबारदेखि खोल्ने निश्चित भएपनि शिक्षक युनियनले यसलाई अगस्ट १७ सम्मका लागि स्थगित गरेको छ ।

मिसिसिपीमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ४४ जिल्लामा यस हप्ता सोमबारदेखि कक्षा सञ्चालनमा आएको छ । २७ सय विद्यार्थी भएको कोरिन्थ जिल्लाले पनि कक्षा सञ्चालनमा ल्याएको छ । हप्ताको अन्त्यमा कोरिन्थ हाई स्कूलका एक विद्यार्थीमा कोरोना संक्रमण देखियो र उनका दर्जन बढी सहपाठी क्वारेन्टिनमा छन् ।

इन्डियानामा पनि गत हप्ता विद्यालय सञ्चालनमा आएको थियो । ग्रीनफिल्ड सेन्ट्रल जुनियर हाई स्कूलका एक विद्यार्थी विद्यालय गएको पहिलो दिन नै कोरोनाद्वारा संक्रमित भए ।

विद्यालयका सुपरिन्टेन्डेन्ट ह्यारोल्ड ओलिनका अनुसार ती विद्यार्थीको केहि दिन अघि नै परीक्षण भएको र रिपोर्ट आउनु अघि नै विद्यालय उपस्थित भएका थिए । ती विद्यार्थीलाई स्कूलको क्लिनिकमा आइसोलेट गरिएको  र विद्यालयका नर्सले उनीसँगको सम्पर्कमा आएका अन्य विद्यार्थीको पहिचान गर्न सहयोग गरेको सुपरिटेन्डेन्टले जानकारी दिए ।

‘यसले हाम्रो योजनामा कुनै परिवर्तन गरेको छैन,’ ओलिनले भने । ‘हामीलाई थाहा थियो हाम्रोमा कुनै न कुनै बेला पोजेटिभ केस देखिन्छ भनेर तर यो पहिलो दिन नै होला भनेर सोचका भने थिएनौं ।’

नर्थ पाउल्डिङकी आलिया विलियम्स भने सोमबार विद्यालय गइनन् । उनकी आमा एरिका विलियम्सले आफ्नो १४ वर्ष छोरीलाई घरमा नै राख्ने निर्णय गरेको बताइन् । आलियाका दुई भाइलाई ‘सिस्टिक फिब्रोसिस’ भएको र बाहिरी वातावरणको सम्पर्क आएपछि निम्तिने खतरा आफूले मोल्न नचाहेको एरिकाले जानकारी दिइन् । विलियम्सका अनुसार उनकी छोरीले अनलाइन कक्षामार्फत् नै पढाइलाई निरन्तरता दिन सक्षम छिन् । तर छोरीले साथीलाई भने भेट्न नपाउँदा उनी दुःखी छिन् ।

‘उनी निकै सामाजिक छिन् । यो उनको व्यक्तित्वको सबैभन्दा ठूलो पाटो हो,’ विलियम्सले भनिन् ।

अन्य अभिभावकले भने आफ्नो अफिस र विद्यालयको निर्णयबीच तालमेल मिलाउनु परिरहेको छ । स्यानोन डनले अर्को हप्ता लुसियानास्थिती एक प्राथमिक विद्यालयमा क्याफ्टेरिया म्यानेजरको रुपमा आफ्नो कार्यभार सम्हाल्नुपर्छ तर उनकी छोरीको किन्डरगार्टेनको पढाई अनलाइनमार्फत् हुने भनिएको छ, यसका लागि उनले के गर्ने, यसबारे निर्णय गर्न सकेकी छैनन् ।

यद्यपि, छोरीको स्कूलले सेप्टेम्बर ७, लेबर डे पछि इन–पर्सन कक्षा सञ्चालन गर्न सकिने सम्भावना व्यक्त गरेको छ ।

‘मेरो पूरा परिवार काम गर्छ  । छोरीलाई अनलाइन कक्षामा सहयोग पुर्याउनका लागि घरमा कोही पनि हुनेछैन,’ डनले भनिन् ।

स्यानोनले छोरी लेबर डे पछि इन–पर्सन कक्षामा समावेश हुने आशा राखेकी छिन् । तर छोरी विद्यालय गइ हालेपनि उनको मन शान्त हुने भने छैन ।

‘मलाई पक्कै पनि चिन्ता त लाग्ने नै छ,’ उनले भनिन् । ‘मैले छोरीलाई इन–पर्सन कक्षामा पठाउनेछु तर स्कूलमा कोभिड संक्रमण फैलिने खबर सुनेँ भने यसबारे मैले पुनः विचार गर्नुपर्छ ।’ –अल जजिरा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप