प्रतीक्षा उडानको : गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी
बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।
आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग भने, ‘हामीले अब उपकरण जडानसहित ९ प्रतिशत काम गर्न बाँकी छ । अन्य काम सकिएको छ ।’ उनका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी काम भइरहेको छ ।
निर्माणको क्रममा आईसीबी १ र आईसीबी २ गरी छुट्याएर ठेक्का लगाएको थियो । जसमा आईसीबी–१ अन्तर्गत अधिकांश उपकरण जडानका काम भइसकेका छन् भने आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस) लगायतका काममध्ये डिभिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा छन् ।
यस्तै फिनिसिङ्ग बाहेक अर्को ठूलो काम धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण बाँकी छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु आउने क्रममा रहेको जनाइएको छ । लकडाउनका कारण हाल अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उपकरण र प्राविधिकहरु आउन ढिलाइ भएको हो ।
सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ती प्राविधिक आउने र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल निर्माणको काम लकडाउनमा समेत भएको थियो ।
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएर काम शुरु गरेको थियो ।
लकडाउनमा पनि काम जारी
विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणमा करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनमा धेरै क्षेत्रको काम रोकिन पुग्यो । चार महिना लामो लकडाउनका कारण अधिकांश निर्माण काम रोकिए पनि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने जारी रहेको थियो ।
छुट्टीमा चीन गएका केही चाईनिज कामदारहरु कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा फर्कनसमेत पाएनन् । उनीहरु नआए पनि भैरहवामै रहेका चिनियाँ र सहित स्वदेशी कामदर, प्राविधिकबाट काम गरिएको थियो ।
विमानस्थल आयोजना प्रमुख अधिकारीले बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम रोकिए पनि त्यसपछिका दिनहरुमा काम जारी गर्दा ३ प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको रातोपाटीलाई बताए । हाल विमानस्थल निर्माणमा २९ जना चिनियाँसहित तीन सयभन्दा बढी कामदारले काम गरिरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा काम आगाडि बढाएको उनले बताए । जसको परिमाण लकडाउनबीचमा पनि ट्याक्सी वे, तारबार र माटो फिलिङ, रङरोगन, एसी वायरिङ र रनवे लगायतका विद्युतीय काम पूरा भएको अधिकारीले बताए ।
विमानस्थल निर्माणमा चाहिने नदीजन्य पदार्थको मौज्दात यही बीचमा आवश्यकमात्रामा राखिएको छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको उनले बताए ।
एसियाली विकास बैंकको ऋण सहयोगमा ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थलमा दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य छ । विमानस्थल अन्तर्गत प्राधिकरणकै करिब एक अर्ब लगानीमा कार्गो भवन निर्माण प्रक्रियामा रहेको छ ।
२०७१ पुसमा तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको काम सुरुवाती दिनमा मधेश आन्दोलन, नाकाबन्दी लगायतका कारणले लक्षित समयभन्दा पर सरेको थियो ।
‘उडानको मिति ठ्याक्कै भन्न सकिँदैन’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि उडानको जिम्मा दिने पर्यटन मन्त्रालय हो । अबको केही महिनापछि उडानको जिम्मा, मिति आदिबारे निर्णय हुने आयोजना प्रमुख अधिकारीको भनाइ छ ।
अधिकारीले भने, ‘हामीले जतिसक्दो छिटो काम पुरा गरिदिने भनेर नै कामलाई गति दिएका छौं, उडानको विषयमा माथिबाटै निर्णय हुन्छ, हामीले कहिलेबाट उडान हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने विषय रहेन ।’