बालिकालाई दुई सातासम्म बलात्कार, एक जना पक्राउ
रौतहट । बलात्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो ।
फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको प्रहरीले जनाएको छ ।
फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई ललाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए ।
विशेष सूचनाको आधारमा फकिरलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।