आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘राष्ट्रघाती’हरू देशभक्तिको प्रमाणपत्र बाँडिरहेछन्

बिहीबार, ११ भदौ २०७७, १० : २९
बिहीबार, ११ भदौ २०७७

कोरोना कहर र लकडाउनबीचको एकदिन सुदूरपश्चिमबाट एकजना कमरेडले फोनमा भन्नुभयो, “यहाँ मेरी मातृभूमि नेपाल आमा छैनन् भने म कसरी नेपाल जिन्दावादको नारा लगाउन सक्छु कमरेड ! राष्ट्रघातीहरूको भीडमा म कसरी हाँस्न सक्छु कमरेड !” एकछिन त म अकमकिएँ । विषयको सारसङ्क्षेप बुझ्न केहीबेर लाग्यो । कुराकानी हुँदै गर्दा पो थाहा भयो कि देशका असल नागरिकहरूमा ‘आखिर यो देश कसको !’ भन्ने गम्भीर प्रश्न उठ्न थालिसकेछ । आज पनि आफूलाई कम्युनिस्ट भन्न मन पराउने ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका हजारौँ नेता तथा कार्यकतालाई जेल–हिरासतमा थुनेको छ । राजनीतिक आस्थाका बन्दीहरूलाई राजद्रोहको मुद्दा लगाइएको छ । ओली स्वयम् होलीवाइनमा लट्ठिएर नेपाली मौलिकतालाई ध्वस्त पार्न उद्यत भइरहेछन् । राष्ट्रघाती र आततायी सामाजिक फासीवादी ओली सरकारको कडा प्रतिवाद गर्दै हामीले भनिरहेका छौँ– हामी ध्वस्त गर्न चाहन्छौँ, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादलाई !

हामीलाई ओली सरकारले देशद्रोही भन्दै प्रतिबन्ध लगाएको छ । कुनै पनि देशभक्त, क्रान्तिकारी, सचेत समुदायमाथि के देशद्रोहको सामान्य आरोप हो ? जसले मरेर यो व्यवस्था ल्यायो, उसैमाथि प्रतिबन्ध लगाउने चिन्तन र कार्य सामान्य हुन सक्छ ? अदालत मुक्त गर्ने आदेश दिन्छ, उही अदालत परिसरमा राजनीतिकर्मीहरू किन दर्जनौँपटक समातिन्छन् ? नेपाल कम्युनस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धका विरुद्ध विद्यार्थी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, कलाकर्मी र अधिकारकर्मीहरूले सशक्त विरोध गर्दै आइरहेकै छन् । विज्ञहरूले तथाकथित प्रतिबन्ध नै अवैधानिक भएको जिकिर गरिरहेका छन् । जति–जति गिरफ्तारीको मात्रा बढिरहेको छ, त्यति–त्यति ओली सरकार नराम्ररी डगमगाउँदै छ । नेपाल कम्युनिस्ट पार्टीमाथि मात्र होइन, उक्त पार्टीनिकट जनवर्गीय सङ्गठनहरूमाथि पनि चरम दमन गरिएको छ । लेखकहरू लेख्न पाउँदैनन् । कलाकारहरू गाउन र नाच्न पाउँदैनन् । विद्यार्थीहरूलाई विद्यालय वा विश्वविद्यालयमा पस्न दिइँदैन । मजदुरहरूलाई कारखानामा जान प्रतिबन्ध छ । किसानहरू खेतमै समातिन्छन् । महिलाहरूलाई चुलोबाट थुतेर हिरासत पुर्‍याइन्छ । हामीलाई थाहा छ, प्रत्येक हिंसाको जननी राज्य पक्ष नै हुन्छ । संसारमा यही कुरा प्रमाणित हुँदै आएको छ । यो फासीवादी राज्य ‘न्याय’ र ‘अहिंसा’ को नारा फलाकिरहेछ, तर ऊ न्याय र हिंसालाई परिभाषित गर्दैन । यस्तो अवस्थामा जनताले कतिञ्जेलसम्म अहिंसाको माला जपिरहन्छ ? प्रश्न त यसरी पनि उठ्न थालेको छ । हिंसाका अनेक स्वरूप र परिभाषा हुन्छन् र, छन् । संविधानमै उल्लेख भएका जनताका अधिकारको उपयोग गर्न नदिने केपी ओलीय रवैया हिंसा हो कि होइन ? संस्थागत र नीतिगत हिंसा गर्ने यो राज्य आफैँ सबैभन्दा बढी हिंसा गर्दछ, फेरि उही नै सबैभन्दा बढी ‘न्याय’ को कुरा गर्छ । यो ओलिटिक्सको जनघात र राष्ट्रघातको पराकाष्ठा हो ।

हामीलाई ओली सरकारले देशद्रोही भन्दै प्रतिबन्ध लगाएको छ । कुनै पनि देशभक्त, क्रान्तिकारी, सचेत समुदायमाथि के देशद्रोहको सामान्य आरोप हो ? जसले मरेर यो व्यवस्था ल्यायो, उसैमाथि प्रतिबन्ध लगाउने चिन्तन र कार्य सामान्य हुन सक्छ ? अदालत मुक्त गर्ने आदेश दिन्छ, उही अदालत परिसरमा राजनीतिकर्मीहरू किन दर्जनौँपटक समातिन्छन् ?

हामी यो देश र यो देशको माटोलाई माया गर्छौँ । हामी उत्पीडित तथा श्रमजीवी जनतालाई माया गर्छौँ र उनीहरूको मुक्तिका लागि लड्छौँ । यो कुरा सही हो कि हाम्रा लागि यही नै देशहित हो, यही नै देशभक्ति हो, यही नै देशसेवा हो । हामीलाई पुरै भरोसा छ– माक्र्सवाद, लेनिनवाद र माओवादमाथि । हामीलाई पुरै भरोसा छ– देशभक्त तथा क्रान्तिकारी नेपाली जनतामाथि । हामीलाई पुरै भरोसा छ– विश्वभरका उत्पीडित तथा श्रमजीवी जनसमुदायमाथि । हामी यो कुरा पनि दह्रोसँग भन्न चाहन्छौँ कि हामीले यो देशको कथित संविधानमाथि औँलो ठड्याएकै हो । हामीले नालायक र अन्यायी शासकहरूका सामुन्ने प्रश्न उठाएकै हो । हामीले तिनका शोषण, अन्याय र अत्याचारका विरुद्ध प्रतिरोध गरेकै हो । तिनको निर्लज्ज आदेशलाई अस्वीकार गरेकै हो । हामीलाई यहाँको सरकार र यहाँको संविधानमाथि कुनै भरोसा छैन । हामीलाई यहाँको दलाल पुँजीवादी व्यवस्थामाथि कुनै विश्वास छैन । हामी एकपटक नेपालमा जनताको सम्पूर्ण देशभक्ति खन्याउन चाहन्छौँ । सडकछेउमा बसेर जुत्ता सिलाउने श्रमजीवीहरू जुन दिन “तिम्रो जुत्ता तिमी नै सिलाऊ, तिम्रो जुत्ता तिमी नै टल्काऊ” भनेर सडकमा उत्रनेछन्, जुन दिन उनीहरूले “तिमीहरू सबैभन्दा ठुला लुटेरा हौ, करोडौँ लुटिरहेका छौ” भन्नेछन्, त्यस दिन तिमीहरूसित उनीहरूलाई पक्रेर जेल तथा हिरासतमा हाल्ने समय पनि हुनेछैन, जतिबेला तिमीहरू उनै लाखौँ श्रमजीवीद्वारा घेरिइसकेका हुनेछौ ।

केही मानिसहरू भ्रष्ट तथा दलाल नेताहरूसित तस्बिर खिचाउँछन् र, त्यसलाई फुर्तिका साथ सामाजिक सञ्जालमा पोस्ट गर्छन् । नेताहरूले हामी यस्तो गर्र्दै छौँ, उस्तो गर्दै छौँ भनेका कुराको बढाइ चढाइँ पनि तिनैले गर्दछन् । नेताहरूले झुट्टा कुरा गरिरहेको थाहा पाउँदा पाउँदै पनि उनीहरू प्रतिवाद गर्दैनन् । जब त्यसको पर्दाफास हुनेछ, अवस्था धेरै नाजुक भइसकेको हुनेछ । के नेपालमा यतिबेला आधारभूत विषयमाथि छलफल भइरहेको छ ? पटक्कै छैन । हामी यो देशको आधारभूत विषयमा छलफल गर्न चाहन्छौँ । हाम्रा आधारभूत विषय यिनै हुन्– जनयुद्ध, जनक्रान्ति, जनआन्दोलन, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता,  राष्ट्रियता, जनतन्त्र र जनजीविका, वैज्ञानिक समाजवाद आदि । यो सत्ता आफैँ जनतामाथि हिंसा थोपर्छ, अनि जनतामाथि आरोप लगाउँछ । कुमार पौडेल हत्याकाण्ड त्यसको सटिक उदाहरण हो । हामीलाई हाम्रो विचारको श्रेष्ठताको प्रतिस्पर्धा गर्नसमेत दिइएको छैन । हामी जुनसुकै विचार र जोसुकै विचारकसित बहस गर्न तयार छौँ । हामी चाहन्छौँ कि ओली सरकारले जनतामाथि हिंसा गर्ने कारखाना बन्द गरोस् । यो कुरा पनि सही हो कि क्रान्तिकारीहरूले रगतले टीका लगाएका हुन्छन् र शिरमा कफन बाँधेका हुन्छन् । ओली सरकार यतिबेला ‘जय श्री राम’ भन्दै मन्दिर–मन्दिरमा दमन र हिंसाको आरती गरिरहेछ । हाम्रो प्रश्न छ ओलीहरूलाई, तिमीहरू यो देशमा कति जनताको कति रगत पिउन चाहन्छौ ?

मातृभूमिको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि लड्नेहरूमाथि ओलीहरूले शक्तिकेन्द्रको इशारामा गोली चलाइरहेछ । भोका जनताले रोटी मागिरहँदा, जनताले आफ्नो हक–अधिकारको कुरा उठाइरहँदा ओली सरकारले तिनको जवाफ गिरफ्तारी, दमन र गोलीले दिइरहेछ । ओली सरकार देशमा श्वेतआतङ्क मच्चाइरहेछ । भनिन्छ, देशमा लोकतन्त्र छ । त्यसो भए त्यो लोकतन्त्रले सबैलाई बराबरी हक–अधिकार किन दिएन त ? आज कोराना कहरमा विद्यार्थी, कर्मचारी, मजदुर, किसानको अवस्था के छ ? यसबारे ओली सरकारलाई कुनै मतलव छैन । यो सरकार सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई बढावा दिइरहेछ । हामी अवैज्ञानिक संस्कृतिलाई ध्वस्त पार्दै नूतन र वैज्ञानिक संस्कृति स्थापना गर्न चाहन्छौँ । खासमा ओली मण्डली भारतीय गुप्चर संस्था ‘रअ’ का ‘थर्ड क्लास’ का राष्ट्रघाती चम्चा हुन्, जो देशभक्तिको प्रमाणपत्र बाँड्ने धृष्टता गरिरहेछ ।

मातृभूमिको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि लड्नेहरूमाथि ओलीहरूले शक्तिकेन्द्रको इशारामा गोली चलाइरहेछ । भोका जनताले रोटी मागिरहँदा, जनताले आफ्नो हक–अधिकारको कुरा उठाइरहँदा ओली सरकारले तिनको जवाफ गिरफ्तारी, दमन र गोलीले दिइरहेछ । ओली सरकार देशमा श्वेतआतङ्क मच्चाइरहेछ ।

यो देश केका लागि ! यो देश कसका लागि ! यो कुरा माथि नै उठाइसकिएको छ । कुनै देश बन्नु भनेको त्यो देशका नागरिकले बनाउनु भन्ने अर्थ हुन्छ । तर, ओली सरकारमा देश निर्माणको कुनै अवधारणा नै छैन । कोरोना कहरमा श्रमिक मजदुरहरूको सडकमा देखिएको लामबन्दीले यथेष्ट बोलेकै छ । देशमा सामाजिक फासिवाद जुन तरिकाले आइरहेको छ, त्यसबाट अरू त के, सञ्चार क्षेत्र पनि सुरक्षित रहेन । अहिले बालुवाटारबाटै सञ्चार गृहमा समाचारको स्क्रिप्ट आउन थालेको छ, जुन निकै डरलाग्दो कुरा हो । जसरी सङ्कटकालमा यस्तो विधि अपनाइन्थ्यो, सैनिकक अधिकारीको उपस्थितिमा सम्पादकीय लेख्नुपर्दथ्यो । आबरणमा कम्युनिस्ट भने पनि यो ओलिटिक्स सत्तामा आलोचनात्मक चेतनाको कुनै स्थान छैन । यो देश केवल दलाल पुँजीपतिहरूको चरन क्षेत्र, केवल लुटेरा र शोषकहरूको जुवा अखडामा परिणत हुँदै छ । यहाँ राष्ट्रघातीहरूको ढलीमली तीव्र बनिरहेछ ।

देशभित्र मानिसहरूको जुन संस्कृति छ, यहाँ आन्तरिक राष्ट्रियता छन्, मानिसहरूका जुन मान्यता छन्, मानिसहरूका जुन अधिकार छन्, नागरिकहरूका जुन स्वत्व छन्, हामीले तिनाई समावेश गर्दैनौँ भने यो देश देशको रूपमा कहाँ रहन्छ र ! देशले आफ्ना नागरिकलाई पूर्ण सार्वभौमिकताको र पूर्ण स्वाभिमानको आभास गराउनुपर्दैन ? हामी ती महान् सपनासँगै उभिएका छौँ, जसमा सबैलाई बराबरीको हक होस् । हामी त्यो सपनासँगै उभिएका छौँ, जसमा सबैलाई जिउने हक होस्, सबैलाई खाने, पिउने र उठ्ने हक होस् । महान् सहिदहरूले जुन आफ्नो बलिदान दिएका छन्, त्यो बलिदानलाई हामीले सम्झिरहेका छौँ । हामी नैसर्गिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिएका छौँ । हामी विश्व मानवतावादको पक्षमा उभिएका छौँ । हामीले शोषणका सबै रूपहरूको पर्दाफास गर्नु छ । साँच्चैको लोकतन्त्र, साँच्चैको स्वतन्त्रता, साँच्चैको विश्व मानवतावाद, साँच्चैको मानव अधिकार, सबैको अधिकार र स्वतन्त्रता त केवल वैज्ञानिक समाजवादमा मात्र प्राप्त हुनेछ, हामी त्यही वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ ।

आज न्यायालय कहाँ न्यायालयका रूपमा रहेको छ र ! नेपाल यस्तो देश बनेको छ, जहाँको अदालतमा न्यायको हत्या हुन्छ । नेपाल यस्तो देश हो, जहाँ दलितलाई मन्दिरमा पस्न दिइँदैन । मान्छे काट्नेहरू सेलीब्रेटी बन्छन् । नेपाल यस्तो देश हो, जहाँ महिला अत्यधिक असुरक्षित छन् । एक समय भारतमा भारतीय नागरिकलाई रेस्टुरेन्टमा जान दिँइदैनथ्यो । आज पनि अमेरिकामा कालाहरू गएको रेस्टुरेन्टमा गोराहरू जाँदैनन् । अमेरिकामा काला जातिमाथि निरन्तर दमन भइरहेको छ । प्रतिक्रियावादीहरू, साम्राज्यवादीहरू त्यसैलाई स्वतन्त्रता ठान्छन् । हामी यस्ता खालको स्वतन्त्रतालाई मान्ने पक्षमा छैनौँ । हामी त्यस्तो स्वतन्त्रता स्थापना गर्न चाहन्छौँ, जहाँ हरेक मानिसलाई उसको नैसर्गिक हक–अधिकार हुनेछ, जुन दिन हरेक मानिसलाई मानिसको अधिकार प्राप्त हुनेछ, त्यो दिन हामी धेरै धेरै खुसी हुनेछौँ । हामीले यही कठीन तर अनिवार्य मार्ग अवलम्बन गरिरहेका छौँ, केवल देश र जनताको खुसीका लागि !

साहुको ऋणमा घर–जग्गा बन्धकी राखेर विदेशिएका, कोराना महामारीका कारण चार–चार महिना बेरोजगारीले थिलथिलिएका नेपाली नागरिकलाई स्वेदश ल्याउने नाममा सामाजिक फासिवादी ओली सरकारले व्यवस्थापन गर्न लागेको टिकेट र होटेल भाडालगायतका कुरा सुन्दा तिनलाई सिंहदरबारबाट लखेट्न लाठो लिएर जाऊँ जाऊँ जस्तो लाग्छ । तिनै श्रमिक मजदुरकै रेमिट्यान्समा ढाडिएर फेरि तिनैमाथि यत्रो नचाहिँदो कहर !

ओली सरकारको परिचय नै राष्ट्रघात र दलालीकरण भएको छ । साहुको ऋणमा घर–जग्गा बन्धकी राखेर विदेशिएका, कोराना महामारीका कारण चार–चार महिना बेरोजगारीले थिलथिलिएका नेपाली नागरिकलाई स्वेदश ल्याउने नाममा सामाजिक फासिवादी ओली सरकारले व्यवस्थापन गर्न लागेको टिकेट र होटेल भाडालगायतका कुरा सुन्दा तिनलाई सिंहदरबारबाट लखेट्न लाठो लिएर जाऊँ जाऊँ जस्तो लाग्छ । तिनै श्रमिक मजदुरकै रेमिट्यान्समा ढाडिएर फेरि तिनैमाथि यत्रो नचाहिँदो कहर ! सबै कुरा जनता आफैँले गर्नुपर्ने भएपछि ओली सरकार किन र कसलाई चाहियो ? साथै, भारतीय दूतावासमार्फत साना परियोजनामा लगानी गरेर नेपालमा समानान्तर सरकारकै हैसियतमा अर्बौं रुपैयाँ सिधै परिचालन गर्दै आएको भारतलाई प्रधानमन्त्री केपी ओलीले सोही परियोजनालाई अर्काे ३ वर्ष लम्ब्याउने निर्णय गरेर भारतीय साम्राज्यवादको भद्दा तावेदारी गरेका छन् । ओली सरकारले मन्त्रिपरिषद्को बैठकबाट ५ करोडसम्मका आयोजना भारतीय दूतावासमार्फत लगानी गर्न दिनेगरी स्वीकृति दिएका हुन् । भारतले यही परियोजनाको माध्यमबाट लामो समयदेखि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ । भर्खरै डबल नेकपाको कार्यदलको प्रतिवेदनको हवाला दिँदै अमेरिकी सैन्य रणनीति एमसीसी अनुमोदन गर्ने प्रपञ्च फेरि सुरु भएको छ । ओली सरकारको यो योजनावद्ध राष्ट्रघातको अर्को उदाहरण हो ।

नेपालको आन्तरिक तथा बाह्य जीवन धेरै गम्भीर र जटिल मोडमा छ । दुश्मनहरूले नेपाल र नेपाली जनताका विरुद्ध गम्भीर षड्यन्त्र गरिरहेका छन् । यो कुरा पनि स्पष्ट भइसकेको छ कि नेपालमा ओली सरकार स्वयम् साम्र्राज्यवादी शक्तिकेन्द्रको इशारामा आतङ्क मच्चाउन चाहन्छ । गणतन्त्रविरोधी ओलीलाई यो गणतन्त्र पिलो बनेको छ । ओली मण्डलीले नेपालमा पाँच दर्जन बढी जनघात तथा राष्ट्रघातका जघन्य अपराध गरिसकेको छ । सत्ता र शक्तिको बलमा जनता मार्दै हिँड्ने, राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, लेखक–कलाकारलाई पक्राउ गर्दै यातना दिने ओलीको कस्तो देशभक्ति हो ? नेपालमा भारतीय राजदुतावासलाई समानान्तर सरकार चलाउन दिने ओलीको कस्तो राष्ट्रवाद हो ? ओलीको संरक्षणमा भएको वाइडबडी, ओम्नीदेखि गोकर्णसम्मको प्रकरण कस्तो देशभक्ति हो ? करछली एनसेललाई उन्मुक्ति दिने ओलीको कस्तो देशभक्ति हो ? कोरोना कहरमा गरिएको अथाह भ्रष्टाचार कस्तो देशभक्ति हो ? महाकाली सन्धि गर्ने ओली एन्ड कम्पनीको कस्तो देशभक्ति हो ? कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेर ‘महान् राष्ट्रवाद’ को नारा उराल्ने ओलीका विशेष मान्छेहरू राती राती भारतीय दुतावास गएर ‘यो काम प्रचण्डहरूको दबाबमा गर्न बाध्य भएको’ भन्न लगाउने ओलीको कस्तो राष्ट्रवाद हो ? रेलको ठेक्का, पानीजहाज, अपर–कर्णालीदेखि अरुण तेस्रोसम्मका प्रकरणमा ओली सरकारको राष्ट्रवादको निर्लज्ज झाँकी देखिएकै छ ! बालुवाटारमा बसेर बालुवाटारकै जमिनको रक्षा गर्न नसक्ने कस्तो देशभक्ति हो ? ७० करोडको केसमा गोकुल बास्कोटाको बचाउ गर्ने ओलीको कस्तो देशभक्ति हो ? सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँसम्म पुर्‍याउने कस्तो देशभक्ति हो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम थपलिया
खेम थपलिया
लेखकबाट थप