आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाइडेनलाई मास्क लगाएकोमा जिस्काउने ट्रम्प आफै संक्रमित भए

२१ औँ शताब्दीमा पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति
शुक्रबार, १६ असोज २०७७, १३ : ३६
शुक्रबार, १६ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफुलाई कोरोना भाइरस संक्रमण लागेको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए । यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राति आफ्नो क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए । ‘महामारी अन्त्य हुन लागेजस्तो देखिन्छ,’ कोरोनाका कारण भर्चुअल्ली आयोजना गरिएको वार्षिक अल स्मिथ डिनर कार्यक्रममा उनले भनेका थिए । यसअघि ट्रम्पले भाइरस छिट्टै बेपत्ता हुनसक्ने दाबी समेत गरेका थिए, जबकी ह्वाइट हाउसकै स्वास्थ्य विज्ञहरुले यी दाबीमा कुनै सत्यता नरहेको टिप्पणी गरे ।

एक्काइसौँ शताब्दीमा पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि बिसौं शताब्दी हृदयघातले वारेन जी हार्डिङ र सेरेब्रल ह्यामरेजले फ्रयाङलिन डि रुसवेल्टको ज्यान लिएको थियो ।  ७४ वर्षका ट्रम्पमा कोरोना देखिएको खबर फैलिएसँगै अमेरिकामा स्टक मार्केट पनि ओरालो लागेको छ ।

२ लाख अमेरिकीहरुले ज्यान गुमाएपछि देशका सर्वोच्च व्यक्तिमा कोरोना देखिएको हो । अमेरिकामा ७४ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । ट्रम्प पत्नी मेलानियाले संक्रमणका बाबजुद आफु र आफ्ना श्रीमान्को अवस्था राम्रो रहेको बताएकी छिन् । यसअघि पछिल्लोपटक बिहीबार दिउँसो ट्रम्प सार्वजनिक रुपमा देखिएका थिए, उनी न्यु जर्सीमा निर्वाचनका लागि रकम संकलन गर्ने अभियानमा जुटेर ह्वाइट हाउस फर्किएका थिए । उनी बिरामीजस्तो देखिएका थिएनन्, यद्यपी पत्रकारहरुसँग नबोली सिधै आवासमा लागेका थिए । यसअघि ट्रम्प र उनका धेरैजसो सहयोगीहरुले सामाजिक दूरी र मास्क लगाउने काम गरेका थिएनन् ।

मंगलबार साँझ भएको राष्ट्रपति बहसमा ट्रम्पले डेमोक्रेट्रिक पार्टीका उम्मेदवार जो बाइडेनलाई निरन्तर मास्क लगाएको भन्दै जिस्क्याएका थिए । राष्ट्रपतिमा कोरोना परीक्षण पुष्टि भएपछि ह्वाइट हाउसले शुक्रबारका धेरै कार्यक्रम स्थगित भएको घोषणा गरेको छ । जसमा वासिङटनमा हुने फन्ड रेजर कार्यक्रम र फ्लोरिडामा हुने चुनावी ¥याली समावेश छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप