आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बैंकको पक्षमा चिनियाँ अदालतको फैसला, डेढ अर्ब फिर्ता हुने

बैंक ग्यारेन्टीप्रतिको आशंका हट्यो
शुक्रबार, २१ कात्तिक २०७७, १५ : ५५
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी रकम फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा चिनियाँ अदालतमा चलिरहेको मुद्दा नेपाली बैंकहरुको पक्षमा गएको छ । चीनको हेनान प्रान्तस्थित झङझाओ इन्टरमिडियट कोर्टमा चलेको चाइना कन्स्ट्रक्सन बैंक र नेपाली बैंकहरुबीचको मुद्दामा अदालतले नेपाली बैंकको पक्षमा फैसला सुनाएको हो । 

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट बैंक ग्यारेन्टीमार्फत् रकम भुक्तानी लिएको थियो । तर सो कम्पनीले आयोजनाको काम बीचैमा छोडिदिएपछि आयोजनाले बैंक ग्यारेन्टी बापतको रकम जफत गरेको थियो । 

कम्पनीको बैंक ग्यारेन्टी जफत भएपछि हिमालयन र बीओकेले चाइना कन्स्ट्रक्सन बैंकसँग त्यस्तो ग्यारेन्टीबापतको रकम भुक्तानी माग गरेको थियो । तर, सो बैंकले यस्तो माग अस्वीकार गरेपछि यो विषय अदालतसम्म पुगेको हो । तर, ठेक्का प्रक्रियामा बैंकहरुको भूमिका नहुने भन्दै बैंक ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न आदेश दिएको हो ।  यो आदेश प्राप्त भएसँगै बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको करिब ६६ करोड रुपैंया आउने बाटो खुला भएको छ । त्यसका लागि बैंकहरुले आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरेको जनाएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतबाट यस्तै प्रकारको मुद्दा जित्दै २ अर्ब रुपैंया फिर्ता पाएको थियो । 

बीओके, हिमालयन र इन्भेष्टमेन्ट बैंकको रकम डुब्दा नेपाली बैंकहरुले विदेशी कम्पनीको लागि लिइदिने बैंक ग्यारेन्टी नै जोखिममा परेको विश्लेषण हुन थालेको थियो । तर दुवै मुद्दा नेपाली बैंकको पक्षमा आएपछि बैंकहरुले बैंक ग्यारेन्टीमा गर्दै आएको लगानी असुरक्षित नरहेको प्रमाणित समेत भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप