आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्यो, अब कति लाग्छ ?

शुक्रबार, १० पुस २०७७, १७ : २१
शुक्रबार, १० पुस २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको कमिसन घटाएको छ । बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै यसअघि लाग्दै आएको कमिसनमा ३३ प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत घटाएको हो ।

बोर्डले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवाबापत लाग्दै आएको शुल्कमा ६० प्रतिशत शुल्क घटाएको छ । त्यस्तै, सरकारी र संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषका इकाई र अन्य धितोपत्र खरिद–बिक्रीमा लाग्दै आएको कमिसन शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिदमा लाग्दै आएको शुल्कमा ३३ प्रतिशत कटौती गरेको उल्लेख गरेको हो ।

अब कति लाग्छ शुल्क ?

बोर्डले जारी गरेको नयाँ शुल्कमा धितोपत्र व्यवसायीले सेयर कारोबारमा ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्था गरेको छ । बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत शुल्क कायम गरेको छ ।

यसअघि सेयर कारोबारमा लाग्दै आएको शुल्क ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म थियो । जसअनुसार ५० हजारसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मका लागि ०.४५ प्रतिशत र १ करोडभन्दा बढीका लागि ०.४० प्रतिशत शुल्क लाग्ने व्यवस्था थियो ।

त्यस्तै, राष्ट्र बैंकले जारी गरेको ऋणपत्र र अन्य संस्थागत ऋणपत्रको कारोबार गर्दा ५ लाखसम्मको लागि ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.०५ प्रतिशत तथा सोभन्दा बढीको कारोबारका लागि ०.२० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

म्युचुअल फण्डका इकाईहरुको कारोबारका लागि भने ५ लाखसम्मका लागि ०.१५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.१२ प्रतिशत र सोभन्दा बढीको कारोबारका लागि ०.१० प्रतिशत शुल्क लाग्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप