आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हराएका २२ मोटरसाईकल धनीलाई हस्तान्तरण

चोरी भएका मोटरसाईकल पत्ता लगाउने दुई जवान पुरस्कृत
शुक्रबार, १७ पुस २०७७, १५ : ००
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । साङ्गमु शेर्पाको पल्सर मोटरसाईकल वनस्थलीस्थित पार्किङबाट गायव भयो । पुस ३ मा मोटरसाईकल हराएपछि उनले महानगरीय ट्राफिक महाशाखामा निवेदन दिइन् । ट्राफिक महाशाखाबाट १३ दिनपछि खबर आयो– ‘तपाईको मोटरसाईकल फेला परेको छ, शुक्रवार कार्यक्रम गरेर हस्तान्तरण गर्दैछौँ ।’ साङ्गमुको जीवनमा आएको त्यो अर्को ठुलो खुसी थियो ।

शुक्रवार रामशाहपथस्थित ट्राफिक महाशाखामा मोटरसाईकल लिन पुगेकी साङ्गमुलाई एसपी श्यामकृष्ण अधिकारीले सोधे– ‘कस्तो फिल भाको छ ?’ साङ्गमुले हाँस्दै भनिन्–‘एकदमै खुसी छु सर ।’ साङ्गमु जस्ता २२ जना मोटरसाईकल धनी शुक्रवार ट्राफिक महाशाखाबाट खुसी लिएर फर्किए । काठमाडौं उपत्यका र काभ्रेको बनेपाबाट हराएका १८ मोटरसाइकल र ४ वटा स्कुटर फेला पारेर ट्राफिक महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराई र एसपी श्यामकृष्ण अधिकारीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

चोरी गर्ने समूहले अधिकांश मोटरसाईकलका नम्बर परिवर्तन गर्ने गरेका छन् । तर, ट्राफिक प्रहरीले इन्जिन र च्यासिस नम्बरका आधारमा हराएका मोटरसाईकल पत्ता लगाउने गरेको छ ।
राजधानीका ठुला पार्किङ स्थलबाट दुईपाङ्ग्रे सवारी चोरी हुने गरेको ट्राफिक महाशाखाका एसएसपी भट्टराईले बताए । उनले भने– ‘मोटरसाईकल धनीले सुरक्षामा ध्यान दिनुपर्छ, साईरन जडित ताल्चा लगाउने गरेमा चोरी हुने सम्भावना रहँदैन् ।’

असईको कमाण्डमा १७ जनाको टोली

ट्राफिक महाशाखाको चोरी शाखामा प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा एउटा टिम छ । सो टिमले चोरीको मोटरसाईकलबारे अनुसन्धान गरेर पत्ता लगाउने गरेको छ । उपत्यकाको कपन, धुम्बाराही, गोंगवु, बनस्थली, जोरपाटी र ठमेल लगायतका स्थानबाट हराएका २२ वटा मोटरसाईकल सोहि टिमले पत्ता लगाएको हो ।

प्रसनि कमाण्डमा रहेका १७ जनाको टोली सादा पोशाकमा खटिन्छन् अनि, शंकास्पद मोटरसाईकल फेला परेपछि चेकजाँच गर्छन् । ‘हामी इन्जिन र च्यासिस नम्बरबाट चोरी भएका मोटरसाईकल पत्ता लगाउँछौं’ अनुसन्धानमा संलग्न चोरी शाखाका एक प्रहरीले भने– ‘नक्कली नम्बर टाँसे पनि लेगार्ड र अगाडीको भाग हेरेर कुन लटको मोटरसाईकल भन्ने चिन्न सक्छौं ।’

शंकाष्पद मोटरसाईकल नियन्त्रणमा लिएपछि चोरी शाखाको कम्युटरको रेकर्डमा हेरेर मात्र उनीहरुले सो मोटरसाईकल छाड्छन् । चोरी गरेको पुष्टि भएमा सवारी र चालक दुवैजना अनुसन्धान अधिकारीको फन्दामा पर्छन् ।
मोटरसाईकल चोरीबारे अनुसन्धान गरिरहेका प्रहरी जवान श्रीधर पुरी र भुपेन्द्र कार्कीलाई ट्राफिक प्रहरी महाशाखाका एसएसपी भट्टराइले शुक्रवार नगद पुरस्कार दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप