आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोभिडबीच जुर्मुराउँदै उद्योग व्यवसाय, ९१ प्रतिशत उद्योग खुल्न थाले

मङ्गलबार, २८ पुस २०७७, २२ : ४५
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द भएका अधिकांश उद्योगले कारोबार सचालन गर्न थालेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले जनाएको छ । करिब १ महिना लगाएर राष्ट्र बैंकले गरेको पुनरावृत्ति अध्ययनले कोभिड महामारीको समयमा बन्द भएका सबैजसो उद्योग व्यवसायहरु विस्तारै खुल्न थालेको देखाएको हो । 

राष्ट्र बैंकले यसअघि गत जेठ २६ गतेदेखि असार १० गतेसम्म देशभरका ६ सय ७४ उद्योगी व्यवसायीसँग तथ्याङ्क संकलनका आधारमा गरिएको अध्ययनमा करिब ६१.०३ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेको देखिएको थियो । पहिलोपटक गरिएको अध्ययनमा सहभागी भएका उद्योगीहरुमध्ये ६ सय ४ जना उद्योगी व्यवसायी सहभागी गराएर राष्ट्र बैंकले सो अध्ययन गरेको थियो । उक्त अध्ययनमा ९०.९३ प्रतिशत उद्योग सञ्चालनमा आएको देखिएको छ । बाँकी ९.०७ प्रतिशत उद्योग मात्रै अहिलेसम्म बन्द अवस्थामा छन् । 

यसअघि ३४.९२ प्रतिशत उद्योग आंशिक सञ्चालनमा रहेकोमा पछिल्लो अध्ययनमा यस्तो उद्योग ३६.९८ प्रतिशत पुगेको देखिएको छ । यसअघि ४.०५ प्रतिशत उद्योग मात्रै पूर्ण रुपमा सञ्चालन भएकोमा पछिल्लो अध्ययनले यस्तो संख्या ५३.९५ प्रतिशत रहेको देखिएको छ । 

कुन आकारको उद्योगको कस्तो अवस्था ?

दोस्रोपटक गरिएको अध्ययनले ५० करोडभन्दा ठूला आकारमा पुँजी भएका ७५ प्रतिशत उद्योग व्यवसायहरु पूर्ण रुपमा सञ्चालन भएको देखिएको छ । त्यस्तै, १५ देखि ५० करोड लगानी भएका मझौला उद्योगहरु ४८.९८ प्रतिशत, १५ करोडसम्म पुँजी भएका ३८.७३ प्रतिशत, लघु उद्यम तथा साना खुद्रा व्यापारतर्फ ५१.५५ प्रतिशत तथा घरेलु उद्योगतर्फ ४६.५६ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालन भएको देखिएको छ । 

आंशिक रुपमा सञ्चालन हुनेमध्ये ठूला उद्योगतर्फ १६.७६ प्रतिशत, मझौलातर्फ ३८.७८ प्रतिशत, सानातर्फ ४७.१८ प्रतिशत, लघु उद्यमतर्फ ४०.३१ प्रतिशत र घरेलु उद्योगतर्फ ३६.६४ प्रतिशत उद्योग रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  सञ्चालन हुनै नसकेर हालसम्म बन्द भएका उद्योगमा ठूला उद्योगतर्फ ८.३३ प्रतिशत, मझौलातर्फ १२.२४ प्रतिशत, सानातर्फ १४.०८ प्रतिशत, लघु उद्यमतर्फ ८.१४ प्रतिशत र घरेलु उद्योगतर्फ १६.७९ प्रतिशत उद्योग रहेको छ । 

उद्योग सञ्चालन भयो बढेन कारोबार

कोभिडपछि अधिकांश उद्योगहरु सञ्चालनमा आए पनि क्षेत्रगत रुपमा उल्लेख्य कारोबार हन भने सकेको छैन । जेठमा गरिएको सर्भेक्षणमा उद्योगहरुको कारोबार कोभिडअघिको तुलनामा २८.७७ प्रतिशत रहेकोमा अहिले यो ५०.५१ प्रतिशत मात्रै पुगेको छ । अर्थात् अझै पनि आन्तरिक उत्पादनको खपत कोभिड अगाडिको तुलनामा आधा भन्दा धेरै हुन नसकेको देखिएको छ ।

 क्षेत्रगत रुपमा सबैभन्दा बढी उत्पादन विद्युत्, ग्यास र पानीको ९२.५० प्रतिशत भएको छ । सबैभन्दा कम भने होटल तथा रेष्टुरेन्ट क्षेत्रको १८.११ प्रतिशत मात्रै रहेको छ ।  व्यवसायको आकारको आधारमा लघु उद्यमको कारोबार सबैभन्दा बढी ५१.७९ प्रतिशत रहँदा घरेलु उद्योगको कारोबार सबैभन्दा कम ४६.८४ प्रतिशत रहेको देखिएको छ । 

रोजगारी र आम्दानी दयनीय

पूर्ण वा आंशिक रुपमा अधिकांश उद्योगको सञ्चालन भएको भएपनि अझै पनि रोजगारी र रोजगारीमा रहेकाले गर्ने आम्दानीको अवस्था अझै कमजोर रहेको राष्ट्र बैंकको तथ्याँकमा उल्लेख गरिएको छ । अहिलेसम्म पनि अझै पनि १२ प्रतिशत भन्दा बढी कामदारहरु रोजगारीमा फर्किन सकेका छैनन् । असार मसान्तमा २२.५ प्रतिशतले रोजगारी गुमाएकोमा यो संख्या घटेको भएपनि अझै पनि ठूलो हिस्सा जनसंख्या बेरोजगार रहन बाध्य भएका हुन् । 

राष्ट्र बैंकको अघिल्लो रिपोर्टमा औसत ज्याला खर्च कोभिड अघिको समयमा भन्दा ६३.४० रहेकोमा अहिले यो ७०.३९ प्रतिशत मात्रै पुगको छ । विद्युत् ग्याँस र पानी क्षेत्रमा काम गर्नेको ज्याला ९० प्रतिशत भन्दा माथि रहेकोमा खानी तथा उत्खनन्, उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र, यातायात तथा भण्डारण, स्वास्थ्य तथा सामाजिक कार्यको क्षेत्रका उद्योग व्यवसायको ज्यालादर ८० प्रतिशतभन्दा माथि छ । अझै पनि ज्याला वा तलब नबढेका क्षेत्रमा शिक्षा, होटल रेष्टुरेन्ट, सचार क्षेत्र लगायत छन् । यी क्षेत्रको ज्याला खर्च अझै पनि ६० प्रतिशत भन्दा कम छ ।

उद्योगीको प्राथमिकतामा परेनन् पुनरकर्जा 

बन्द भएका वा भर्खरै सञ्चालनमा आएका उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट ब्याज सहुलियतको अपेक्षा गरेका छन् । यद्यपि राष्ट्र बैंकले प्राथमिकता दिएर ल्याएको पुनरकर्जा कार्यक्रम भने उनीहरुको प्राथमिकतामा परेको छैन । 

सर्वेक्षणमा सहभागी भएका उद्योगी व्यवसायीहरुले व्याजदर सहुलियतलाई राहतको पहिलो प्राथमिकतामा पारेका छन् । त्यस्तै कर्जाको पुनतालिकीकरणलाई दोस्रो, सहुलियतपूर्ण कर्जालाई तेस्रो र पुनरकर्जालाई चौथो प्राथमिकतामा राखेका हुन् । 

सर्वेक्षणका क्रममा उद्योगी व्यवसायीहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चाल खर्च धान्न कठिनाई भएको, थप कर्जा प्राप्त गर्न कठिनाई भएको, पुँजी तथा तरलता व्यवस्थापनमा कठिनाई भएको तथा बैंकबाट सहयोग नपाएको गुनासो गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप