आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा हिमपहिरोः ३ नेपालीसहित १ सय १५ जना वेपत्ताको नाम सार्वजनिक

सोमबार, २६ माघ २०७७, २३ : ५९
सोमबार, २६ माघ २०७७

एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।  स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् । 

स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् । 

वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् । त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पञ्जावका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कश्मीरका १ र ओडिसाका १ जना रहेका छन् । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता हुने अधिकांश हाइड्रोपावरमा कार्यरत मजदूर रहेका छन् । 

यद्यपि, स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ । आइतबार बिहान साढे १० बजे हिमनदी फुटेपछि धौलीगंगा (ऋषिगंगा) नदीमा ठूलो बाढी आएको थियो । अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ भने ऋषिगंगा हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप