आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपालाई सरकारमा जानबाट रोक्न पार्टीकै सांसदहरुको मोर्चा

आइतबार, ०१ चैत २०७७, १४ : ४४
आइतबार, ०१ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सत्ता सहकार्यका लागि विभिन्न दलसँग वार्ता गरिरहेको बेला सोही पार्टीका केही सांसदले त्यसका विरुद्ध मोर्चा बनाएका छन् । उनीहरुले अहिलेको अवस्थामा सरकारमा सामेल हुन नहुने भन्दै पार्टीलाई सरकारमा जानबाट रोक्न आवश्यक रणनीति बनाउन छलफल गरिरहेका छन् । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा सांसदहरुको बैठक जारी रहेको जसपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए ।

जसपा नेपाल सरकारमा जाने तयारीमा भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उनले पार्टीलाई सरकारमा जानबाट रोक्नका लागि आफूहरु छलफल गरिरहेको बताए ।

उनले भने, ‘१० जना सांसद बसिरहेका छौं, ‘प्रदीप यादव, इस्तियाक राईलगायतका सांसदहरु आउने क्रम जारी छ, हाम्रो पक्षमा करिब १५ जना सांसद हुन्छन् ।’

तर सांसद प्रदीप यादवले आफू उक्त भेलामा नजाने बताए । रातोपाटीसँग उनले भने, ‘कसैको डिजाइनमा त्यो बैठक हुन लागेको हो। त्यसमा म जादिनँ, मेरो सरोकारको विषय पनि होइन ।’ बैठकमा हालसम्म सांसदहरु प्रमोद साह, दुलारी खत्वे, रानी मण्डल, अमृता अग्रहरि, निरमाया ढकाल, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, उर्मिला यादव उपस्थित छन् ।

जसपा नेपालको शीर्ष नेतृत्वले कहिले एमाले, कहिले माओवादी केन्द्र र कहिले काँग्रेससँग सत्ता समीकरणका लागि कुराकानी गरिरहेको छ । नयाँ सरकारका लागि निर्णायक भूमिका निर्वाह गर्ने अंक गणित भएकाले पनि जसपा नेपालले सम्भावित दुवै समीकरणका लागि छलफलमा जुटेको हो । तर दुवै गठबन्धनका सन्दर्भमा पार्टीले छलफल गरिरहँदा मधेशी जनतामा भ्रम सिर्जना भएको सांसद साहको भनाइ छ ।

जसपा नेपालले सरकारमा जानकै लागि दलहरूसँग वार्ता गरिरहेको सन्देश जनतामा गएको बताउँदै यस बारेमा पार्टीले स्पष्ट पार्नुपर्ने उनले बताए । मधेशको सम्पूर्ण मुद्दा सम्बोधन नभएसम्म सरकारमा जान नहुने उनको भनाइ छ । यसका लागि आफूहरुले शीर्ष तहमा दबाब दिन मोर्चाबन्दी गरिरहेको बताउँदै उनले राजनीतिक निकासका लागि आफूहरुले पार्टीलाई दबाब दिने बताए । आजको बैठकबाट निकालिने निष्कर्षका बारेमा आफूहरुले शीर्ष तहलाई जानकारी गराउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप