आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बरामद गरिएका १७ मोटरसाइकल र ९ स्कुटर सम्बन्धित धनीलाई बुझाइयो

बिहीबार, ०२ वैशाख २०७८, १५ : ३९
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।  महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएको १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार (आज) सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाएका हुन् । ती मोटरसाइकलहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए ।

एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइरहेको बताए । चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचविखन गर्ने गरेको पाइएको समेत एसएसपी भट्टराईले बताए ।

महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताए । यस्तै सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताए ।

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप