आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग : विराटनगरका प्रशिक्षकमाथि ५० हजार जरिवाना

बुधबार, १२ जेठ २०७८, १३ : १३
बुधबार, १२ जेठ २०७८

विराटनगर एफसीका प्रशिक्षक यान लमाथि नेपाल सुपर लिग (एनएसएल) मा एक वर्षको प्रतिबन्ध लागेको छ । त्यस्तै, उनले ५० हजार जरिवाना समेत तिर्नुपर्नेछ ।

यसअघि ललितपुर सिटीविरुद्ध खेलमा रेफ्रीविरुद्ध आक्रोश पोख्दै उनले खेल अवरुद्ध गरेका थिए । खेलाडीलाई भड्काएर मैदान छाड्न लगाउने काममा यानकै जिम्मेवारी रहेको निष्कर्ष अनुसन्धान टोलीले निकालेको पनि आयोजकले जनाएको छ ।  यानले आगामी सिजन कुनै पनि टोलीलाई प्रशिक्षण दिन नपाउने एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टले जनाएको छ । प्रशिक्षक यानले खेलका क्रममा टचलाईन नाघेको र अफिसियलहरुमाथि पनि अपशब्द प्रयोग गर्दै गालीगलौजमा उत्रिएको आयोजकले जनाएको छ ।

आयोजकले विराटनगर एफसीमाथि पनि १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

त्यसैगरी खेलाडीलाई मैदान छाड्न उक्साने कार्य गरेको र अनुशासनको कमी भएको भन्दै विराटनगर एफसीका टेक्निकल डाइरेक्टर सोनाम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक म्यानेजर मिलन गुरुङलाई  तीन म्याचको प्रतिबन्ध लगाइएको छ ।

घटना के थियो ?

वैशाख २५ गते दशरथ रंगशालामा भएको खेलमा ललितपुरले विराटनगरलाई ४–० ले हराएको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि दुबै टिमले यो खेल जित्नैपर्ने अवस्था थियो । खेलको पहिलो हाफमा ललितपुरले अग्रता लिएसँगै विराटनगरले रेफ्री कविन व्यन्जनकारको निर्णयप्रति विरोध जनाइरहेको थियो ।

दोस्रो हाफ, अर्थात् ६३ मिनेटमा विमल रानाले ललितपुरको अग्रता दोब्बर पारे । गोललगत्तै एकपछि अर्को गर्दै विराटनगरका खेलाडीले मैदान छाडे । जसकारण, ७ मिनेटसम्म खेल अवरुद्ध भयो । त्यसयता, अखिल नेपाल फुटबल संघ र आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टका पदाधिकारीले सम्झाएपछि मात्रै विराटनगरले खेल खेल्न मानेको थियो । खेल सुचारु भएपछि ललितपुरले थप दुई गोल गर्दै ४–० को जित हासिल गरेको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक लले आफ्नो टोलीमाथि रेफ्रीले पक्षपात गरेको आरोप लगाएका थिए । खेलाडीलाई यसरी मैदान छाड्न उक्साएको र खेल भावनाविपरीतको कार्य गरेको भन्दै प्रशिक्षक ल र क्लबलाई कारबाही गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप