आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापाको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सनलाई

बिहीबार, १७ असार २०७८, १४ : ३८
बिहीबार, १७ असार २०७८


 झापाको मेचीनगरमा बनाउन लागिएको होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले पाएको छ । नेपाली सेनाको सहजीकरणमा हनुमान कन्स्ट्रक्सनले निर्माण गर्ने होल्डिङ्ग सेन्टर १००० क्षमताको हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । 

झापा भारतसँगको सीमावर्ती जिल्ला भएकाले सङ्क्रमणको समयमा भारतबाट नेपाल आउने व्यक्तिहरूको स्क्रीनिङ गरि सम्बन्धित पालिकासम्म सुरक्षित ढङ्गबाट पुर्याउन होल्डिङ्ग सेन्टरको निर्माण गर्न लागिएको प्रजिअ तिमिल्सिनाले बताए । रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कारणले भारत गएका नेपाली नागरिकहरूलाई महामारीको समयमा झापामा काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिइँदै आएको छ । यसरी नेपाल आएका मानिसहरूको स्वास्थ्य परीक्षण गरिने, नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरु सँगको समन्वयमा सवारीसाधन व्यवस्थापन गरि गन्तव्यसम्म पठाउने र पोजेटिभ देखिएकाहरूलाई छुट्टै आइसोलेसन सेन्टरमा पठाउने काम होल्डिङ्ग सेन्टरबाट हुने उनको भनाई छ ।

जिल्लाको मेचीनगर १४ दुवागढीमा सेन्टर निर्माणको लागि ४ बिगाह क्षेत्रफल छुट्याइएको र निर्माण सहजीकरण नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणले गर्ने गणपति कर्णेल अमरजङ्ग थापाले जानकारी दिए । होल्डिङ्ग सेन्टर निर्माण सम्पन्न भएपश्चात् त्यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ । होल्डिङ्ग सेन्टरमा २२ ओटा घर हुने, प्रत्येक घरमा एउटा शौचालय र हरेक दुई घरका लागि एउटा भान्साघर हुने, घरहरू मध्ये दुई ओटा घरमा मेडिकल टिम रहने र बाकी घरहरूमा सामाजिक/भौतिक दुरी कायम गरि मानिसहरू राखिने कर्णेल थापाले बताए ।

प्रिफ्याब प्रविधिबाट निर्माण हुने प्रत्येक घरको लम्बाइ १७७.५ फिट र चौडाइ १९.५ फिट  हुने  हनुमान कन्स्ट्रक्सनका साइट मेनेजर जागृत चौरेलले बताए । मेचीनगरको बसपार्क क्षेत्रमा यस अघि नै निर्माण गरिने भनिएको होल्डिङ्ग सेन्टरको लागि क्षेत्रफल अपुग भएकाले नयाँ स्थान पहिचान गरिएको उनको भनाई छ । स्थानीयवासी तथा जनप्रतिनिधिसँगको छलफल तथा सहकार्यमा तत्कालै नयाँ क्षेत्रमा नाप जाँच गरि काम सुरु गरिने साइट मेनेजर चौरेलले जानकारी दिए । काम सुरु भएको तीन महिनामा निर्माण सम्पन्न हुने उनको भनाई छ । हनुमान कन्स्ट्रक्सनले पूर्वको झापा, विराटनगर लगायत पश्चिमको धनगढीसम्म आठवटा होल्डिङ्ग सेन्टर बनाउने जिम्मा लिएको चौरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्प खड्का
पुष्प खड्का
लेखकबाट थप