आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शंकर पोखरेलको ‘अन्तिम अस्त्र’ मानिएको रिट निवेदन न्यायाधीश राउतको इजलासमा

मङ्गलबार, २६ साउन २०७८, १० : ४०
मङ्गलबार, २६ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि ‘अन्तिम अस्त्र’ मानिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश राउतको एकल इजलासमा पेसी राखिएको छ ।

रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।उल्लेखनीय छ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनका सांसदहरूको समावेदनका आधारमा प्रदेश प्रमुखले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

​विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखले अल्पमतका बाबजुद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको भन्दै आफूहरूसँग प्रदेशसभामा प्रस्ट बहुमत रहेको दाबी गर्दै आएका छन् ।

हाल प्रदेशसभामा कायम ८० सदस्यमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेका ३८ सांसद मात्र छन् । प्रदेशसभाका बाँकी सबै सांसद विपक्षी गठबन्धनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप