आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसमा हिन्दुराष्ट्रको खोजी

मङ्गलबार, १५ भदौ २०७८, ११ : १५
मङ्गलबार, १५ भदौ २०७८

धर्ममाथिको राजनीतिले पुनः एकपटक चर्चा पाएको छ । खासगरी काँग्रेसी राजनीति यसबाट बढी प्रभावित देखिन्छ । महामन्त्री शशाङ्क कोइराला पहिलेदेखि नै धर्म सापेक्ष राष्ट्रको पक्षमा थिए । ५० प्रतिशत महासमिति सदस्य दुई वर्षअघि नै हिन्दुराष्ट्रको पक्षमा खुलेका हुन् ।

महाधिवेशन नजिकिएसँगै विपक्षमा उभिँदै आएका नेताहरूमा समेत धार्मिक सेन्टिमेन्ट देखिन थालेको छ । यसको अर्थ हो आसन्न महाधिवेशन (मङ्सिर ९–१३) मा हिन्दु अभिमतलाई आकर्षित गर्नु । यसले के–कति प्रभाव पार्ला वा पार्न सक्ला, त्यो त भविष्यले नै बताउला । तर, कदाचित प्रभावित पार्न सक्यो भने अन्ततः हानि भने काँग्रेसलाई नै बढी हुनेछ ।  

गणतन्त्र र धर्मनिरपेक्षता माओवादीको मुद्दा हो, माओवादी जनयुद्धको जगबाटै उठेको हो  तर काँग्रेस पनि कम जिम्मेवार भने छैन । काँग्रेस आफ्नो एजेन्डा छाडेर माओवादी लाइनमा उभिन आएकैले यसले चाँडै नै मूर्तरूप पाएको हो तर त्यसबापतको मूल्य भने उसैलाई भारी परेको जगजाहेर छ । यसैले नै पहिलो हुँदै आएको पार्टीलाई दोस्रो, तेस्रोमा खुुम्चिन बाध्य पारेकोमा काँग्रेसीहरू नै बढी जानकार हुनुपर्छ । हाल  काँग्रेसी नेताहरूमा देखिएको धार्मिक सेन्टिमेन्ट सोही गुमेको साख उकास्नु नै हुन सक्छ तर नदीनालामा धेरै पानी बगिसकेको छ ।  

​धर्ममाथि राजनीति घुस्नुहुन्न, घुसाउनुहुन्न । जसले त्यस्तो धृष्टता गर्छ ऊ दण्डित हुन्छ, हुनुपर्छ । धर्मलाई सत्तारोहणको भ-याङ बनाउँदा राप्रपा (कमल थापा) को अवस्था कहाँबाट कहाँ पुग्यो । एकैचोटि २४ सिटमा उक्लेको पाटी किन शून्य बराबरमा झर्नुप-यो सबैलाई थाहा भएकै कुरा हो ।  एमालेमा चिरा पर्नुको कारण पनि यही हो । केपी शर्मा ओलीको धार्मिक नाटकको मूल्य आफैंलाई यति बढी महँगो पर्ला भन्ने सायद उनैलाई थाहा थिएन ।  हाल आएर काँग्रेसी नेताहरू त्यही कार्ड खेल्दैछन् भने निश्चित छ अब फुट्ने पालो काँग्रेसको हो ।

यसो भनिरहँदा थाहा छ, हिन्दुधर्म गुरुहरूको आँखाको तारो बन्नुपर्नेछ, जो हिन्दुराष्ट्रका लागि आन्दोलन गरिरहेका छन् । यसै पनि उनीहरूले हिन्दुविरोधी बिल्ला भिराएकै छन् । यस आलेखले थाहा छैन टाउको अरु कति दुखाउने हो । तथापि यथार्थ यही हो कि काँग्रेसले समयमै होस पु-याएन भने आगामी निर्वाचनसम्ममा उसको हुने भनेको दुई चिरा नै हो । जहाँसम्म हिन्दुधर्मको कुुरा छ सापेक्ष राष्ट्र बनाउँदैमा संरक्षण हुने र निरपेक्ष लेखिँदैमा नहुने भन्ने होइन । यो हिन्दुहरू आफैँ कति सच्चा हिन्दु बन्न सकेका छन् भन्ने कुरामा भर पर्ने कुरा हो । आचरण हिन्दु भए स्वतः संरक्षण हुन्छ । संविधानमा हिन्दुराष्ट्र लेख्नै पर्दैन हुन सकेन भने दस ठाउँमा लेखे पनि हुनेवाला केही छैन ।

यसै पनि वैदिक सनातन धर्म भनेको त्यस्तो महासागर हो, उसलाई सुरक्षित हुन कसैको वैशाखी चाहिन्न । कसरी सुरक्षित हुने भन्ने ऊ आफैँलाई थाहा छ, आफैँले नै सुरक्षित गर्न सक्छ, गर्र्दै आएको छ । भारतमा कति समय मुगलले शासन ग-यो, कति समय अङ्ग्रेजले शासन ग-यो त्यो पनि थाहा छ, उनीहरूपूर्व कोको आए र उनीहरूले वैदिक सनातन धर्मको मर्ममा प्रहार गर्न के-​कति गरे त्यो पनि थाहा छ ।

हाम्रै देशको कुरा गर्ने हो भने पनि के कस्ता हर्कत हुँदै आएका छन् त्यो पनि थाहा भएकै कुरा हो । तैपनि खोइ त अहिले पनि ८१ प्रतिशतभन्दा बढी यसकै अनुयायी छन् । त्यसैले निरपेक्ष र सापेक्ष समस्या होइन । हो, हाल जुन रूपमा धर्मान्तरण भइरहेका छन् त्यो भने समस्या हो तर यसको पनि मूल कारण हिन्दुहरू आफैँ हौँ भन्ने कुरा भुल्नुहुँदैन । त्यसैले धर्मनिरपेक्षको आडमा धर्मान्तरणको पेसा मौलायो भनेर चिच्याउँदै हिँड्नुभन्दा आफूहरू कति हिन्दु हुन सकेका छौँ भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ ।

वैदिक सनातन धर्म भनेको संसारकै प्राचीनतम संस्कृति मात्र होइन वैज्ञानिक संस्कृति पनि हो । यसभित्र धर्म छ, संस्कृति छ, विज्ञान छ, प्रविधि छ, सबैभन्दा बढी मानवता छ, समानता छ । वसुधैव कुटुम्बकमको आलोकमा हुर्केको संस्कृति असमान र असहिष्णु हुनै सक्दैन । यसले मानिसलाई मात्र होइन पशुपन्छीलाई समेत मानवताको पाठ पढाएको छ, सिकाएको छ । आफू पनि बाँच र अरुलाई पनि बाँच्न देऊ भन्ने संस्कृति संसारमा कुनै छ भने हिन्दुसंस्कृति नै छ ।

आफूलाई अरूको जस्तो बोली र व्यवहार मन पर्दैन त्यस्तो बोली र व्यवहार अरुलाई पनि गर्नुहुन्न भन्ने यस संस्कृतिले आब्रह्म स्तम्भपर्यन्त सबै एउटै हुन् भनेको छ । के हामी हिन्दुहरूले यसलाई पालन गरेका छौँ ? नारा भट्याएका मात्र छौँ कि व्यवहारमा देखाउने हिम्मत पनि गरेका छौँ ? नारामा समान छौँ फलाक्ने व्यवहारमा उच र निच भनेर छुट्याउने हामी नै होइनौँ ? कथित तल्लो जातकहाँ कर्मकाण्ड गर्न रुचाउने कति जना हुनुहुन्छ, भन्नुपर्दैन मनन गरे पुग्छ । यस्तै अवस्था रहेसम्म सय ठाउँमा हिन्दुराष्ट्र लेखे पनि धर्म परिवर्तन रोकिँदैन ।

अस्ति एकजना सञ्चारकर्मी मित्र भन्दै थिए– ‘हामी हिन्दुधर्मको कुरा गछौँ, हिन्दुराष्ट्रको माग गछौँ तर कसैले पहिले यो त बताउनुस् कि हिन्दु मर्यादा बुझ्ने तपाईंहरू कति हुनुहुन्छ भनेर सोध्यो भने लाजमर्दो अवस्था छ ।’ वरिष्ट सञ्चारकर्मी हुन्, देश विदेश घुमेका छन्, बुझेका छन् । उनको भनाइमा दम छ । हिन्दुवादीहरुले भन्न सक्नुपर्छ हिन्दु भनेको के हो र हिन्दु मर्यादा भनेको के हो । कथा वाचन तथा न्वारन पास्नी मात्र हो कि त्यो भन्दा बढी पनि केही छ । संविधानको ठेलीमा लेखिँदैमा हुने भए २०१९ सालको संविधानमा पञ्चायतलाई निर्विकल्प पनि लेखिएकै हो । किन तीस वर्ष पनि टिकेन । २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ट संविधान पनि भनिएकै हो किन १० वर्षमै च्यातियो ।    

कोही पनि आफ्नो घरमा इज्जतपूर्वक बस्न पाउन्जेल छिमेकीको छिँडी बार्दैन । हो, प्रलोभन देखाएको छ । यसमा जरुरै उनीहरूको स्वार्थ लुकेको छ । त्यस्तो गर्नहुँदैन, पाइन्न तर उनीहरूले के गरेका छन् त्यो पनि हेर्नुपर्छ । गरिबका छोराछोरी पढाएका होलान्, औषधि उपचार गराएका होलान्, स्कुल, क्याम्पस, अस्पताल बनाएका होलान् यही होइन ? हो भने हामीले पनि त्यस्तै गर्ने हिम्मत गरौँ न, आफैँ रोकिन्छ । यही त हो हिन्दु आदर्श र हिन्दु मर्यादा भनेको ? धर्मनिरपेक्ष भन्ने बित्तिकै कसैले पनि डराउनु पर्दैन र यो आफैँमा नराम्रो पनि होइन । त्यसैले यदि सुधार आवश्यक छ भने हाम्रो व्यवहारमा छ, धर्मको नाममा पलाएको विकृतिमा छ, संविधानमा होइन ।

सुधारको कुरा चाहिँ सुन्नै नचाहने, जे चलेको छ त्यसैलाई चल्न दिनुपर्छ, पुर्खाले जता फर्केर खोकेका थिए त्यतै फर्केर खोक्नुपर्छ, जता फर्केर हाँच्छ्यु गरेको थिए त्यतै फर्के गर्नुपर्छ,  त्यसमा एउटा अल्पविराम, अर्धविराम, पूर्णविरामसम्म चलाउनुहुन्न, चलाउन पाइन्न भन्ने अनि धर्मान्तरण मौलायो भन्दै चिन्ता गरेर हुन्छ ?

राजनीति गर्नेले राजनीति नै गरुन् । धर्मको च्याँखे थापेर राजनीतिक स्वार्थको सपना नदेखौँ । धर्मगुरुहरूले धर्म संरक्षणमै ध्यान दिऔँ ओमकारको झण्डा उठाएर राजनीति गर्ने सपना न देखौँ, यसैमा सबैको भलाइ छ । होइन भने थप अस्थिरता जन्मन्छ । धर्मान्तरणको समस्या बल्झिने भनेको यस्तै अस्थिरतामै हो । सबमा चेतना भया । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप